एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ, प्रहरीले किन लुकाइरहेको छ सूचना ?

साझा कथा । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीलाई भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार, रायमाझीलाई बिहीबार बिहान भैरहवाबाट नियन्त्रणमा लिइएको हो । उनलाई काठमाडौं ल्याएर अदालतमा पेश गरी हिरासतमा राख्ने तयारी प्रहरीले गरेको छ । रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझीलाई नियन्त्रणमा लिएकोबारे आफूहरूलाई जानकारी नभएको प्रक्रिया दिएका छन् । तर, प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै पक्राउ परेका हुन् । प्रहरीले औपचारिक रुपमा भने उनी सम्पर्कमा नरहेको जनाएको छ ।

बुधबार साँझ गृहजिल्ला अर्घाखाँचीमा भएको एउटा कार्यक्रम सकेर रायमाझी बुटवल आएका थिए। आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर अर्घाखाँचीबाट हिँडेका थिए । पछिल्लो समय उनको फोन स्विच अफ छ ।

रायमाझी बुधबार बुटवल बस्ने भन्दै एउटा होटलमा कोठा समेत रोकेका थिए। तर, पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिएका थिए । पछि उनी जहाजको टिकट पनि रद्द गरी सम्पर्कविहीन भएको रूपन्देही प्रहरीको भनाइ छ ।

उनका छोरा सन्दीप रायमाझी पनि बुधवार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधवार नै पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीको प्रहरी स्रोतका अनुसार काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बाबु र छोरालाई नियन्त्रणमा लिइएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?