साझा कथा । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने ताल सम्मेलन प्रतिबद्धतासहितको पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ ।
तीन दिनसम्म जारी सम्मेलनले पोखरा उपत्यकाको नौ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने उद्देश्यअनुरुपमा विभिन्न विषयविज्ञको प्रस्तुतिबाट प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवम कार्यक्रमका संयोजक डा. कल्पनादेवी देवकोटाले जानकारी दिइन् ।
उनका अनुसार सम्मेलनमा अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि व्यवस्थापक कानुन व्यवसायी, पत्रकार तथा विद्यार्थी, व्यवस्थापन र तालसँग सम्बन्धित नीति र अवस्थाका बारेमा करिब २० वटा प्रस्तुति राखिएको थियो । योसँगै पोखरास्थित विभिन्न पाँचवटा ताल भ्रमणसँगै त्यहाँका ताल प्रबन्धकबाट लक्ष्य चुनौती र सफलताका कथा बुझ्ने प्रयास गरिएको थियो ।
सम्मेलनबाट पहिचान गरी जारी गरिएको घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक सङ्ख्या र पारिस्थितिकीय सेवाको महत्व, पोखरा उपत्यका अर्थतन्त्र र स्थानीय जनताको जीविकोपार्जनका लागि तालको महत्व, विगतका प्रयासको अघिल्लो दशकको तुलनामा तालको पारिस्थितिकीय अवस्थामा ह्रास आएको घोषणापत्रमा उल्लेख छ । साथै, स्थानीय समुदायको आर्थिक आवश्यकता पूरा गर्दैै पारिस्थितिकीय अवस्था कायम राख्न स्थानीय समुदाय, सरकारी अधिकारीहरु र प्राविधिक विज्ञबीच घनिभूत सहकार्य आवश्यकता रहेको तथा यी समुहहरु मध्ये एक पक्षसँग मात्र ताललाई व्यवस्थापन गर्ने स्रोत ज्ञान वा क्षमता नभएको लगायतका विषयमा घोषणापत्रमा उल्लेख छ ।
योसँगै सम्मेलनबाट बुद्धिमतापूर्ण प्रयोगको सिद्धान्तका आधारमा पोखरा उपत्यकामा रहेका तालको संरक्षण गर्ने, तालको पुनःस्थापना र दिगो विकासको लागि स्रोत र ज्ञानहरु आदान–प्रदान गर्न जुटाउने र सम्बद्ध सरोकारवालाबीचको आपसी सहकार्यका आधारमा प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाने, पोखरा ताल मन्चलाई पोखरा उपत्यकामा रहेका तालको संरक्षण र दिगो विकासको लागि आवश्यक ज्ञान, अभ्यास, प्राविधिक विशेषता र आर्थिक स्रोत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
सम्मेलनमा वनविज्ञान अध्ययनसंस्थान पोखरा क्याम्पस, पोखरा तथा काठमाडौँ विश्व विद्यालयले पनि समन्वय गरेको थियो । सम्मेलनबाट पोखरा ताल मञ्च सञ्चालनका लागि पूर्ण कुँवरको संयोजकत्वमा मस्यौदा तयारी सात सदस्यीय कार्यदलसमेत बनाएको छ ।