४ अर्ब ३५ करोड घोटाला भएको वाइडबडी काण्ड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातर्फ सोझिएपछि ढिसमिस भएजस्तै नक्कली भुटानी शरणार्थी प्रकरण पनि ढिसमिस हुने संकेत देखा पर्न थालेको छ । वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचार काण्डमा मुछिएकी देउवा पत्नी आरजू राणा नक्कली शरणार्थी प्रकरणमा पनि जोडिएकी छन् । ठूला भ्रष्टाचारका काण्डमा देउवा पत्नी आरजू राणा जोडिन पुग्नु संयोग मात्रै पक्कै होइन । हालै सार्वजनिक भएको एउटा अडियोमा आरजूलाई साढे २ करोड र काँग्रेसकै नेता बालकृष्ण खाँडकी पत्नी मन्जु खाँडलाई ६ करोड बुझाइएको दाबी गरिएको छ । यति मात्रै होइन, वाइडबडी काण्डमा तत्कालीन पर्यटन सचिव प्रेम राई पनि जोडिएका थिए, जो अहिले नक्कली शरणार्थी केसमा पनि जोडिएका छन् ।
भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन भन्दै २०७६ जेठमा सरकारले गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनाएको थियो । त्यसबेला गृह सचिव थिए अहिलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई । उक्त कार्यदलले तयार पारेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन तर त्यहि गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै पाँच सय बढी नेपाली नक्कली शरणार्थी बने । प्रेम राईपछि गृहमा महेश्वर न्यौपाने सचिवको रुपमा आए र न्यौपानेपछि आएका हुन् अहिले पक्राउ परेका सचिव टेकनारायण पाण्डे । खासमा यी तीन सचिवकै पालामा नक्कली भुटानी शरणार्थी बनाउने काममा गिरोह सक्रिय भएको थियो । ठगी गर्ने गिरोहले गृह मन्त्रालयका कर्मचारीदेखि सचिवसम्म प्रभाव मात्रै पारेन, यो काम फत्ते गर्न मन्त्रीहरु र प्रभावशाली नेता तथा व्यक्तिहरुलाई पनि प्रयोग गरे ।
यो काण्डमा प्रहरीले अहिलेसम्म ८ जना पक्राउ गरिसकेको छ । एमाले नेता टोपबहादुर रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक थापा लगायत फरार छन्, केहिको नाम पोलिएको छ र अनुसन्धानको दायरामा आएका छन् । जे होस्, यो प्रकरणमा ठूला ठूला नेता, तिनका पत्नी र छोराहरुको समेत संलग्नता देखिन्छ । यसको सिधा अर्थ ठुलै नेताहरु पनि यसमा संलग्न छन् । यो प्रकरणमा १ अर्बभन्दा बढी रकम असुली भएको देखिन्छ । गिरोह संचालन गर्ने मुख्य अभियुक्तहरुको रुपमा काँग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव मोरङका केशवप्रसाद दुलाल, टोपबहादुर रायमाझीका भान्जा ललितपुरका सानु भण्डारी र दाङका एजेन्ट सन्देश पोखरेल शर्मा देखिएका छन् तर उनीहरुको कनेक्सन हेर्ने हो भने काँग्रेस र एमालेका शीर्ष नेताको भान्सासम्मै देखिन्छ । एमाले उपाध्यक्ष बादलदेखि पूर्व उपराष्ट्रपति पासाङका छोरा दिपेश पुनसम्म यो प्रकरणमा जोडिएको स्रोत बताउँछ ।
यो प्रकरणमा भिआइपी र भिभिआइपी तथा उनीहरुका परिवारका सदस्यहरुको संलग्नता रहेको कुरा अब घामझैँ छर्लङ्ग भइसकेको छ । नेपालमा भएका थुप्रै भ्रष्टाचार र अनियमितताका यस्तै काण्डमा पनि नेता र उनीहरुका वरिपरिका मान्छेहरु तानिनु अब नौलो त होइन तर प्रश्न यो प्रकरण यत्तिमै स्थगीत हुन्छ कि अघि बढ्छ भन्ने हो । काँग्रेससहित माओवादी नेतृत्वको सरकार भएको हुनाले एमालेका नेताहरु जोडिँदासम्म अघि बढ्न खोजेको यो प्रकरणको अनुसन्धान अब काँग्रेसकै नेताहरुतर्फ सोझिएपछि वाइडबडी काण्डजस्तै माछो माछो भ्यागुतो हुने त होइन ?