भुटानी शरणार्थी प्रकरणः आरजु राणा र मञ्जु खाँड पनि तानिए, ‘पक्राउ पुर्जी किन जारी नगरेको ?’

साझा कथा । टिकटकमा अहिले एउटा अडियो भाइरल भइरहेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा र पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडको भनिएको अडियोमा भुटानी शरणार्थी प्रकरणमा रकम लिएको कुराकानी छ ।

सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ । प्रहरी उच्च स्रोतका अनुसार उक्‍त अडिओ प्रहरीलाई पीडितले जाहेरी बुझाउँदा नै बुझाएको थियो र त्यसमा अनुसन्धान जारी छ । आरजुले साढे २ करोड र खाँडले ६ करोड बुझेको कुराकानीसहितको अडियो सार्वजनिक भएपछि संसदमा समेत हंगामा भइरहेको छ ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी हुन नसकेको हो ? भन्दै सरकारसँग प्रश्न गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम जोडिएको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नु पर्ने बताए । उनले निर्दोषको मानहानी गर्न नहुने पनि बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए । उनले प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताउँदै उनले नक्कली भुटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको दाबी गरे ।

‘प्रधानमन्त्रीले यो त ट्रेलर मात्रै हो, वास्तविक फिल्म त आउन बाँकी छ, के भनेको, के बोलेको ?,’ उनले भने, ‘कुन फिल्म देखाउनु हुन्छ, फिल्महरु हेर्दै जाने समय आएको छ ।’ उनले पूर्वसहसचि बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग गरे ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?