साझा कथा । केहि समय पहिले नेपाली काँग्रेसबाट लगातार टिकट पाउँदै र अस्वभाविक रुपमा जित्दै आएका सांसद अमरेश कुमार सिंह अहिले स्वतन्त्र रुपमा जितेर संसद आएका हुन् । लामो समय भारत लबीका नेता भनेर चिनिएका उनी शीर्ष नेताहरुको बैठकमा समेत अस्वभाविक रुपमा बस्थे । उनले शीर्ष तहको बैठकमा प्रवेश पाउनु र विभिन्न दलका मुख्य नेतृत्वसँग उठबस गरिरहने गर्दा नेपालमा उनको छवि भारतीय एजेन्टका रुपमा धुमील भएको थियो । उनलाई कतिपयले भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट समेत भनेर आरोप लगाउँथे ।
पार्टीको केन्द्रीय सदस्य मात्रै हुँदा पनि उनले शीर्ष तहको बैठकमा प्रवेश पाइराख्नु र मुख्य नेतृत्वसँग बारम्बार छलफलमा सहभागी भइरहेको देख्दा सो आरोपलाई मलजल पुगेको हुन्थ्यो । उनले भारतीय पक्षकै प्रभाव र सदाशयतामा चुनाव जित्दै आउने र कहिले भारतीय पक्षकै दवावका कारण समानुपातिकमा अट्ने गरेको बताइन्थ्यो । संसदमा उनले विरलै मात्र जनजीविकाको सवाल उठाउँथे । नेपालमा भारत विरोधी निर्णय र गतिविधि हुँदा उनको स्वर चर्को हुन्थ्यो । तर, अहिले कथा फेरिएको छ । उनी प्रतिनिधिसभाको हरेक बैठकमा सहभागी भइरहेको देखिन्छन् । संसदको विशेष समय, शून्य समय र नियमित प्रकृयामा पनि जोडतोडले जनजीविकाका सवाल उठाइरहेका सुनिन्छन् ।
उनका पछिल्ला अभिव्यक्ति र क्रियाकलापहरु उनको पुरानो पार्टी नेपाली काँग्रेसका विरुद्ध देखिन्छ । साथै, आजभोली उनी भारतविरुद्ध अभिव्यक्ति दिन पनि पछि पर्दैनन् । उनै सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभाको सोमबारको बैठकमा अनौठो हर्कत देखाएका छन् । बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार अर्धनग्न बने । प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेर बोल्न चाहेका थिए तर सभामुखले समय नदिएपछि आक्रोशित भएका उनी अर्थनग्न भएका हुन् । विरोध स्वरुप उनले आफूले लगाएको लुगा समेत फुकाले । तर, बैठकमा उपस्थित अधिकांश (विशेष गरि महिला) सांसदहरुले सो हर्कतको विरोध गरेपछि र सभामुखले चेतावनी पूर्वक बारम्बार अनुरोध गरेपछि आफैले फुकालेको लुगा लगाए र सिटमा बसे । उनी आजभोली अनेक हत्कण्डा अपनाएर मिडियामा छाइरहन खोजिरहेका छन् । पछिल्लो समय बलियो बनेको सामाजिक सञ्जालको कन्टेन्टका लागि अमरेश कुमार सिंह मात्र होइन, अन्य केहि सांसदहरु पनि पदीय मर्यादाको ख्याल नगरी बोल्ने र गतिविधिहरु गर्ने गरेको देखिन्छ ।
हेर्नुहोस् तस्बिरहरुः