तयार हुँदैछन् आठ सवस्टेशन, काठमाडौंमा विद्युत आपुर्ति भरपर्दो हुँदै

साझा कथा । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौंँ उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्धरुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

सन् २०५० सम्ममा काठमाडौँ उपत्यकाको विद्युत्को उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सवस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ । सवस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । कूल दुई सय २० केभी प्रसारण संरचनाले काठमाडौँ उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी ‘रिङ’ निर्माण गर्न सर्वेक्षण भइरहेको छ ।

हाल काठमाडौँको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सवस्टेसन निर्माणाधीन छन् । टेकु र चाँगुनारायण सवस्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सवस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रको विद्युत्को बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सवस्टेसन आयोजना जतिसक्म्दो छिट्टो सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिएका छन् ।

कार्यकारी घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सवस्टेसनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सवस्टेसन निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

“यस वर्षको जाडोमा काठमाडौँ उपत्यकामा विद्युत्को माग त्यति बढेन, यसले गर्दा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज भयो, आगामी वर्षको जाडोलाई ध्यान दिई त्यसभन्दा अगाडिनै सवस्टेसनको निर्माण सक्नुपर्छ”, कार्यकारी निर्देशक घिसिङले भने “टेकु र फुटुङ सवस्टेसन निर्माण सम्पन्न भएपछि काठमाडौँको विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा धेरै सहज हुन्छ ।”

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?