Ad Banner

नयाँ बर्ष फापेन शेयर बजारलाई, सन् २०१८ तिरै फर्कियो कारोबार

साझा कथा । कुनै समय थियो, नेप्से परिसूचक ३२०० अंक पुगेको, कारोबार रकम पनि २२ अर्बसम्म पुगेको । तर अहिले कथा बदलिएको छ । नेप्से १८०० अंकको दौडमा छ, कारोबार रकम खुम्चिएर साँघुरो भएको छ । नयाँ वर्ष २०८० लागे यता कारोबार रकम एक अर्ब पनि नाघेको छैन । दैनिक रुपमा घटिरहेको कारोबारले लगानीकर्तालाई थप अत्त्याउँदै लगेको छ ।

शेयर लगानीकर्ताको पैसा डुबेको छ । नयाँ लगानीकर्ता आकर्षित भइरहेका छैनन्, कहिलेकाँहि खुल्ने आइपिओमा भने आकर्षण बढिरहेको छ तर नयाँ डिम्याट खाता खोल्नेहरु कम भएका छन् । कोरोनाको समय लगत्तै दैनिक लाखमा वृद्धि भइरहेको डिम्याट खाता खोल्नेहरुको संख्या अहिले दैनिक केहि सयमा मात्रै छ । शेयरमा लगानी गरेकाहरु पुर्पुरोमा हात लगाएर बसिरहेको अवस्था छ ।

लगानीकर्तालाई अत्त्याउनु एकातर्फ छ भने अर्कोतर्फ दोस्रो बजारको वार्षिक औसत कारोबार समेत घटाउँदै लगेको छ । गएको पाँच महिनाको औसत कारोबार रकम दुई अर्ब तीन करोड छ । सन् २०२३ लागे यता उक्त औसत देखिएको हो । २०२२ को औसत कारोबार रकम दुई अर्ब ३० करोड रुपैयाँ थियो भने २०२१ मा सात अर्ब ९४ करोड थियो । त्यसवर्ष बजार उच्चतम बिन्दु तर्फ लागेको थियो भने त्यही वर्ष उच्चतम बिन्दुको रेकर्ड समेत बनेको थियो । सोही कारण पनि उक्त वर्ष औसत वार्षिक कारोबार रकम बढेको थियो ।

तर त्यसभन्दा अघि २०२० मा औसत कारोबार दुई अर्ब ६३ करोड रुपैयाँ थियो भने त्यो भन्दा अघिको वर्ष अझै थोरै थियो । २०१९ मा मात्र ४१ करोड औसत कारोबार थियो भने त्यो भन्दा अघि २०१८ मा औसत वार्षिक कारोबार रकम ३५ करोड मात्रै थियो । २०१७ मा ६४ करोडमा रहेको कारोबार रकम त्यसपछि घट्दै गएको थियो । तर २०१९ बाट बढ्दै गएर २०२१ मा अहिलेसम्मकै सर्वाधिक वार्षिक औसत कारोबारको रेकर्ड नै बन्यो ।

२०१७ अघि सामान्यतया कारोबार रकम करोडमै हुने गरेकोमा २०२० पछि भने कारोबार रकम अर्बभन्दा माथि हुन थालेको थियो । त्यसबेला र अहिलेको अवस्थालाई तुलना गर्ने हो भने २०१८ को समयमा अहिले बजार देखिएको छ । किनकि यो वर्ष थप वार्षिक औसत कारोबार रकम घट्ने अनुमान गर्न सकिन्छ । त्यसले बजार निक्कै सुस्त रहेको पनि जनाउ दिँदै गइरहेको छ । तर कारोबार रकम घट्दै गर्दा दीर्घकालीन र अल्पकालीन दुवैका लागि भने लगानी गर्ने उचित समय यही रहेको बताइएको छ।“दोस्रो बजारमा जब कारोबार रकम असाध्यै घट्छ तब शेयर किन्नु उपयुक्त हुन्छ । किनकि कारोबार रकम घट्नु भनेको जति मूल्यमा आए पनि शेयर नदिएको बखत हो । जतिमा माग्यो त्यतिमै पाउने अवस्था रहेको बेला शेयर कारोबार बढ्ने गर्छ ”लगानीकर्ता सन्तोष भट्टराइले मेरो लगानी सँग भने ।

यस अघिपनि धेरै पटक बजारमा कारोबार रकम करोडमा सीमित भएको अवस्था छ । २०२३ लागे यता नै २३ कारोबार दिन कारोबार रकम करोडमा सीमित भएको अवस्था छ । यस अघि २०२२ मा पनि लगातार १४ कारोबार दिनसम्म कारोबार रकम करोडमा खुम्चिएको थियो ।

यो पढ्नु भयो ?