साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को भीआइपीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । बहालवाला गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा, नेकपा एमालेका सचिव टोबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायतलाई पक्राउ गरिसकेको प्रहरीले आज अर्का भीआइपी पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए । उनी जतिबेला पनि भाग्न सक्ने शंका बढेपछि प्रहरीले ‘जरूरी पुर्जी’थमाएर बुधबार पक्राउ गरेको हो । खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्राेतले जनाएकाे छ ।
सत्तारुढ नेपाली काँग्रेसका प्रभावशाली नेता र सभापति शेरबहादुर देउवाको निकटतम व्यक्ति समेत रहेका खाँणलाई पक्राउ गरेर सरकारले एकैपटक दुई सन्देश दिएको छ । एकः यो प्रकरणमा मुछिएका जो कोही पनि पक्राउ पर्न सक्छन्, र अर्को नेकपा एमालेमाथी नैतिक दवाव ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार छन् । उनी भारतमा गएर लुकेको आशंका गरिएको छ । उनलाई जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४ पटक भेटिसकेका छन् । उनले सार्वजनिक रुपमा पनि बहालवाला सांसद भएको हुनाले रायमाझीलाई बाटोबाटै पक्राउ गर्न नहुने बताएका थिए । पछिल्लो समय नेकपा एमालेले संसद होस् या बाहिर यस प्रकरणमा मुछिएका नेपाली काँग्रेसका नेताहरुलाई पहिले कारबाहि गरेर देखाउनुपर्ने बताउन थालेका थिए । सत्तारुढ काँग्रेसकै नेता पक्राउ गरेपछि अब एमालेसामु नैतिक दवाव बढेको छ । एमाले नेतृत्वसँगको कुराकानीपछि भागेका टोपबहादुरलाई प्रहरीमा बुझाउन एमालेलाई नैतिक दवाव दिन सरकार सफल भएको छ ।
साथै सत्ता सहयात्री काँग्रेसका प्रभावशाली नेतालाई पक्राउ गरेर सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिने जो कोहि उम्कन नपाउने भन्दै सबैमाथि कारबाहि हुने सन्देश दिएको छ । एमालेका केहि नेता र मिडियाहरुको तर्फबाट पनि माओवादी केन्द्रकै कतिपय नेताका छोराहरु यस प्रकरणमा संलग्न भएको भन्दै उनीहरुमाथि पनि कारबाहि हुनुपर्ने माग गरिरहेका छन् । यो परिप्रेक्ष्यमा प्रचण्ड नेतृत्वको सरकारले ती छोराहरुमाथि पनि कारबाहि गर्न सक्ने छनक दिएको छ ।
बालकृष्ण खाँणपछि वर्तमान सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाहवाही पाइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत नेता तथा सामाजिक अभियन्ताहरुबाट पनि सरकार र गृहमन्त्रीको प्रशंसा भइरहेको छ ।