Ad Banner

यसबर्ष पानी किन कम पर्दैछ ? गर्मी भने बढ्दै

साझा कथा । पृथ्वीको तापमान हरेक बर्ष बढिरहेको छ । जलवायु परिवर्तन र बढ्दो तापमानका कारण विश्वका अधिकाँश मुलुकले अनेकन समस्या झेल्दै आइरहेका छन् । नेपालमा पनि जलवायु परिवर्तनको असर देखिरहेकै छ । हरेक बर्ष गर्मी बढ्दै छ भने पानी पर्ने मात्रा कम हुँदै गएको छ ।

यस बर्षको बर्षायाममा पनि देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने बताइएको छ । यस्तै गर्मी भने बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस बर्षको बर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ ।

जेठ १८ गतेदेखि असोज १३ गतेसम्म कोशी प्रदेशका मध्य तथा उत्तर पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिणपूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर बर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने सम्भावना छ ।

देशका धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । मौसमविद् इन्दिरा कँडेलका अनुसार आगामी मनसुनको प्रक्षेपण विभिन्न सामुन्द्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय प्रणालीमा निर्भर रहेर गरिएको हो । उनका अनुसार नेपालको मनसुन सिजनको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्थामा आधारित भएर तयार परिएको हो ।

प्रशान्त महासागरमा विकसित हुने वायुको प्रभाव बढी हुँदा नेपालमा कम मात्रामा पानी पर्ने सम्भावना रहन्छ भने हिन्द महासागरमा विकसित हुुने ध्रुवीय प्रणाली बढी सक्रिय हुँदा नेपालमा बढी पानी पर्ने सम्भावना रहने हुन्छ ।

अहिले प्रशान्त महासागरमा विकसित भएको वायुको प्रभाव बढी भएका कारण नेपालमा कम मात्रामा पानी पर्ने आँकलन गरिएको उनको भनाइ छ । यस्तै युरोप र एसिया महादेशमा हिँउदमा परेको हिउँका आधारमा पनि नेपालको मनसुनमा पर्ने वर्षाको आँकलन गरिएको हो ।

काठमाडौंको सन्दर्भमा एक हजार ९२ मिलिमिटर सम्म परेको बर्षालाई न्यूनतम बर्षा मान्ने गरिएको छ भने एक हजार २५७ मिलिमिटरभन्दा माथि भए यसलाई औषतभन्दा बढी बर्षा भएको मान्ने गरिन्छ ।

गत बर्ष देशका अधिकांश स्थानमा देशका आधिकाँसमा सरदरभन्दा बढी बर्षा भएको मापन गरिएको थियो भने केही स्थानमा सरदर वा सरदर भन्दा कम बर्षा भएको मापन गरिएको थियो ।

यो पढ्नु भयो ?