साझा कथा । यौनका विषयमा अति खुल्ला बहस र पैरवी गर्ने कृषि विज्ञ मदन राई पक्राउ परेका छन् । हालैमात्र राईद्वारा संचालित सुभद्रा मदन फाउन्डेसनको विद्यालयमा बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । बालिकाहरुमाथि यौन दुव्र्यवहारको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईका अनुसार राईलाई सोधपुछ गर्नका लागि पक्राउ गरिएको हो ।
मुलुक पछौटेपनको सिकार हुनुको कारण राज्य व्यवस्था र त्यसले अवलम्बन गरिरहेको किताब घोकाउने शिक्षा प्रणालीलाई ठान्छन् कृषिविज्ञ राई । व्यावहारिक शिक्षाकै अभावमा नेपाली नागरिक सम्पन्न हुन नसकेको कृषिविज्ञ राईको निष्कर्ष छ । उनको बुझाइमा वर्तमान शिक्षा प्रणालीमा भएको खोटकै कारण श्रम र उत्पादन गर्न सक्ने योग्य जनशक्तिको अभाव भएको हो । अहिलेका पुस्ता पढालेखा छ तर सीपविहीन, यही समस्याको हल गर्ने दाबी गर्दै कृषिविज्ञ राईले २०७० सालमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभद्रा–मदन (शुभम) फाउन्डेसन स्थापना गरेर वैकल्पिक शिक्षाको अभ्यास गरेका थिए ।
यौन, यौनांगका विषयमा फरक धारणा राख्ने राई विवाहका बारे पनि फरक विचार राख्छन् । यौनका विषयमा नेपाली समाजमा पाच्य नहुने अभिव्यक्ति समेत दिने मदन राईले आफू जेलमै बसेपनि अभियान नरोकिने बताएका छन् । पक्राउ पर्ने संकेतपछि लामो स्टाटस लेख्दै उनले आफू मरेपनि आफ्नो विचार नमर्ने बताएका छन् ।
मदन राई डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी जनता समाजवादीका नेता समेत हुन् ।