‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो मायाजाल..’
वरिष्ठ कलाकार प्रेमदेव गिरी र कमला श्रेष्ठले ३० को दशकमा गाएको यो गीतले ‘बुलबुल ताल’ लाई खुबै परिचित बनायो । त्यसपछि गाइएको ‘सुर्खेतमा बुलबुले ताल, लाइगो माया चिनो देउ रुमाल…’ बोलको गीतले फेरि बुलबुल जनजनको मनमा गढेर बस्यो । कर्णाली प्रदेशको राजधानी सुर्खेत – वीरेन्द्रनगर काम विशेषले जाने व्यक्तिहरु हुन् या कर्णालीका जिल्ला जानका लागि विश्राम गर्नेहरु हुन्, जो कोही पनि बुलबुले ताल खोज्दै पुगिहाल्छन् ।
वीरेन्द्रनगरमा प्रमुख पर्यटकीयस्थल हो बुलबुले ताल । पहिले सानो क्षेत्रफलमा रहेको बुलबुले ताल अहिले गुरुयोजना बनाएर भव्य बनाइँदै छ । त्यस क्षेत्रमा तालका साथै बुलबुले उद्यान क्षेत्र पनि भएकाले मानिसहरू पिक्निक खान पुग्छन् । स्थानीय मानिससमेत उद्यानको आनन्द लिनका लागि त्यहाँ पुग्ने हुनाले विशेषगरी बिदाको दिन र अन्य दिनसमेत पर्यटकको घुइँचो हुने गर्दछ ।
ताललाई फराकिलो बनाउने कामका कारण केहि समय बुलबुले ‘पानीबिनाको ताल’ जस्तै भएको थियो, कुरुप भएको थियो । तर अहिले स्वरुप आकर्षक बन्दै गएको छ । कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल अहिले विस्तार हुँदैछ । मुख्य तालमा पानी उम्लिरहेको दृश्यले जो कोहीलाई आनन्दित तुल्याउँछ । त्यहाँबाट बगेर गएको पानी जम्मा गर्दै विस्तारित तालमा माछा मार्नका लागि फिसिङ डाइक र डुँगा सवारीका लागि बोडिङ डाइक पनि निर्माण गरिएको छ ।
तर काम सम्पन्न भइनसकेका कारण अहिले नै सबैथोकको आनन्द लिन पाइदैन । अहिले भइरहेको काम र त्यसको प्रगति हेर्दा केहि समयपछि बुलबुले ताल हेर्न लायक बन्नेछ ।
तस्बिरः साझा कथा