साझा कथा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माओवादी नेता सुदन किराँती मन्त्रीको रुपमा आएपछि त्यस मन्त्रालयसँग सम्बन्धित कामहरुमा केहि सुधारका आशा पलाएका छन् । पशुपति क्षेत्र सरसफाई होस् या वायुसेवा निगमको सेवा होस्, यसमा गुणात्मक सुधार देखिएको छ । उनै मन्त्री किराँतीको पहलमा पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा निःशुल्क गर्ने तयारी भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।
“कोषले कार्यविधि निर्माण गरेपछि कोष सञ्चालक परिषद्ले उक्त कार्यविधि पारित गर्ने छ । यसका लागि केही समय लाग्ने छ”, उनले भने । पशुपतिमा रहेका दुई वटा विद्युतीय शवदाह गृहमध्ये एउटाको यन्त्र विग्रिएको छ । हाल एउटा शवदाह गृह मात्र सञ्चालनमा रहेको सदस्य सचिव थापाले बताए ।
सोही स्थानमा थप चार विद्युतीय शवदाह गृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने तयारी गरिएको कोषले जनाएको छ । पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शवदाह गृहमा चार हजार शुल्क तोकिएको थियो ।
इच्छुक दाताका लागि स्वेच्छाले कोषको खातामा आर्थिक सहयोग गर्न चाहेमा विकल्प खुला राखिने कोषले जनाएको छ । थप विद्युतीय शवदाह गृह यन्त्र खरिदका लागि कोषले आफ्नै स्रोतबाट आठ करोड छुट्याएको छ ।