साझा कथा विशेष
के तपाईलाई उड्ने मोटरसाइकल चढ्न मन लागेको छ ? यस्तो रहर नलाग्ने को नै होला र ? व्यस्त सडक, लामो..जाम, त्यसैमाथि धुलो, बर्खामा हिलो, अर्को गाडीले ड्याम्म हिर्काइदेला भन्ने पीर । यी सबै झण्झटबाट दिक्क भएका मानिसहरुलाई उड्ने मोटरसाइकल चढ्न पाउँदा कति आनन्द हुन्छ होला ? यो धेरैको सपना पनि हो । चलचित्रहरुमा उड्ने मोटरसाइकल देखेका दर्शक र आममानिसका लागि अब साँच्चिकै उड्ने मोटरसाइकल आएको छ । जापानी उद्यमीहरुले तपाईको सपना साकार पारिदिएका छन् ।
केहि महिनादेखि अटोमोबाइलको क्षेत्रमा आफ्नो उड्ने मोटरसाइकल प्रदर्शन गर्दै आइरहेको जापानी कम्पनी अरविन्स टेक्नोलोजिजले अब आफ्नो उत्पादनको विक्रि खुल्ला गरेको छ । साढे ३ मिटर लामो यो मोटरसाइकलको तौल भने ३०० किलोग्राम रहेको छ । अमेरिकी लेखक जर्ज लुकासले बनाएको स्टार वार्स चलचित्रबाट प्रभावित भएर यो मोटरसाइकल बनेको अरविन्स कम्पनीले जनाएको छ । यो मोटरसाइकल निर्माण गर्न सुरु भएसँगै लालायित भएको विश्वबजार अब विक्रि खुल्ला भएसँगै चढ्नका लागि आतुर भइसकेको छ ।
ग्यासबाट चल्ने २२८ हर्सपावरका २ वटा मोटर राखिएको यो उड्ने मोटरसाइकलमा विद्युतीय व्याट्रीबाट चल्ने ४ वटा पंखा हुन्छन् जसले उडानलाई सन्तुलित बनाउन मद्दत गर्नेछन् । ४० मिनेटसम्म उडान भर्न सक्ने यो मोटरसाइकल एक घण्टामा ८० किलोमिटरसम्म पुग्न सक्छ । यसरी हेर्दा यो शहरी क्षेत्रमा बढी उपयोगी हुन सक्छ । जापानिज कम्पनीले पनि व्यस्त शहरमा यो विकल्प हुनसक्ने बताएको छ । हुन त गाउँमा बसेर शहरमा रोजगारी वा अन्य कामका लागि आउनेहरुलाई पनि यो उपयोगी हुन सक्छ नै ।
एक्सटुरिज्मो नाम दिइएको यो मोटरसाइकलको मूल्य चाँहि कति होला ? अहिले जापानमा यसको मूल्य ५ लाख ५० हजार डलर राखिएको छ । अर्थात नेपाली ७ करोड २५ लाख भन्दा बढी पर्न सक्छ । अमेरिकामा बेच्नका लागि यसको मूल्य अझ बढी छ । ७ लाख ७७ हजार डलरमा अमेरिकीहरुले यो उड्ने मोटरसाइकल खरिद गर्न सक्नेछन् । जुन अहिले बजारमा रहेका महंगा कारभन्दा कैयाँ गुणा महंगो पर्न आउँछ । तर विश्वमा पैसाको कमी नभएका मानिसहरु धेरै छन् जसलाई सासहिक काम गर्न मन पर्छ, शौख पुरा गर्नका लागि करोडौँ मूल्य तिर्न तयार छन् । उनीहरुलाई यो मोटरसाइकल अर्को शौख पुरा गर्ने माध्यम बन्न सक्छ ।
९९ प्रतिशत नेपालीको लागि यो मोटरसाइकल सर्वसुलभ हुन भने केहि दशक कुर्नुपर्छ होला ।