Ad Banner

टोपबहादुरसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुग्यो, केहि महिना सेलाउने छैन यो प्रकरण

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा २० देखि २२ जनाको संलग्नता रहेको जनाएको प्रहरीले अहिलेसम्म १३ जना पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएसँगै बुटवलबाट एकाएक हराएका एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेसँगै हिरासतमा गएका छन् । पक्राउ पर्नेमा उनीसहित २ पूर्वमन्त्री र एक बहालवाला सचिवसहित १३ जना पुगेका छन् ।

अर्का पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले ६ दिनदेखि हिरासतमा राखिरहेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल, पाँचथरका टंक गुरुङ र मोरङको पत्थरी शनिश्चरेका सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनीहरूको बयानका आधारमा अन्य व्यक्तिहरू पक्राउ गर्ने क्रम सुरु भएको हो ।

गिरोहका अर्का सदस्य दाङका ३४ वर्षीय सन्देश शर्मालाई २९ चैतमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको थियो । त्यसपछि भने प्रहरीको अनुसन्धान राजनीतिज्ञ र सरकारी कर्मचारीतर्फ सोझिएको थियो ।

यसक्रममा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई १९ बैशाखमा पक्राउ ग¥यो । राईलाई टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको थियो । २० बैशाखमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो ।

२० बैशाखमै बुटवलबाट पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप दुई विचौलिया रामशरण केसी र गोविन्द चौधरीलाई २६ बैशाखमा पक्राउ गरेको थियो ।

त्यसको अर्कोदिन २७ बैशाखमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनी गृहमन्त्री हुँदाका नीजिसचिव नरेन्द्र केसीलाई चावहिल मैजुबहालस्थित उनकै निवासबाट पक्राउ ग¥यो ।

अहिलेसम्म यो प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेका ३ जना फरार छन् । इन्द्रजीत राईका छोरा निरज, तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक र नेपाली कांग्रेसका नेता पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएपनि उनीहरु फरार छन् । प्रहरीले भन्ने गरेको २० देखि २२ जना पुग्नका लागि केहि दिन कुर्नुपर्ने भएको छ ।

पक्राउ परेका भिआइपीहरुविरुद्ध मुद्दा अझै चलिसकेको छैन । मुद्दा लगाउन र छिनोफानो हुन केहि समय लाग्ने हुनाले यो प्रकरण अझै केहि महिना सेलाउने छैन । संलग्नता पुष्टि भए र प्रहरीले अहिले बनाएको योजना अनुसार मुद्दा दर्ता गरे पक्राउ परेका भीआइपीहरुलाई ७ बर्षसम्म कैद हुने सम्भावना छ ।

यो पढ्नु भयो ?