तरकारी खेतीबाटै करोडपति, गाउँ नै देखासिकि गर्न थाल्यो

साझा कथा । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाएका छन् । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् । एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ ।

दैनिक तीन/चार क्विन्टल टमाटर बेचिररहेका उनको टमाटरले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी ४० देखि ५० सम्म थोक मूल्यमा टमाटरका साथै दैनिक १० हजारको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहेका छन् । बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा १५/१६ लाख आम्दानी हुँदै आएको छ । उनले व्यावसायिक खेती गर्न थालेको १० बर्ष भयो । उनले गरेको कामको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ ।

बञ्जाडेले भने, “अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छु भन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर इष्या गर्थे । तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।”

पचास वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक हुन् । सामान्य परिवारका जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमुलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाएका हुन् ।

उनको बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीको सुरुआत गरेका उनी अहिले पाँच करोडभन्दा बढीको मालिक बनेका छन् ।

तरकारीबाट सजिलै कमाएपछि सन्धिखर्कमा बञ्जाडेले तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । भीरपाखाकै बारीमा माटोसँग लडेर करोडपति बन्ने उनको सपना पूरा भएको छ ।

पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साहै समस्या छ । बारीमा आकाशे पानी सङ्कलन गर्न ५० हजार लिटरको आकाशे पानी सङ्कलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बनाइएको छ,। त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिन्छन् बञ्जाडे । उनको सुझाव मानेर धेरै युवाहरुले उनको सल्लाहमा कृषि खेती गर्न थालेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?