उदयपुरका सरकारी विद्यालयमा किन बढे विद्यार्थी ?

साझा कथा । विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अङ्ग्रेजीमाध्यमबाट पठनपाठन हुन थालेपछि उदयपुर गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो ।

पाँच–छ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त्रियुगा नमुना, बालमन्दिर, अम्बेबरमावि राजाबास क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ ।

त्रियुगा नमुना माविका प्रधानाध्यापक सुवास विष्टका अनुसार छ वर्ष अघिदेखि विद्यालयमा नेपालीसँगै अङ्ग्रेजीमाध्यममा पठनपाठन सुरु गरेकाले विद्यार्थीको सङ्ख्या बढेको हो । प्रत्येक कक्षामा अधिकतम ४० देखि ५० विद्यार्थीको कोटा निर्धारण गरी भर्ना अभियान सुरु गरेपछि अहिले एउटै कक्षामा भर्ना हुन आउने सङ्ख्या दुई सयदेखि तीन सयसम्म पुगेको विद्यालयले जनाएको छ ।

अङ्ग्रेजीमाध्यममा अध्यापन सुरु भएपछि पहाडी क्षेत्रका विद्यार्थी पनि आउन थालेको छन् । बालमन्दिर मावि गाईघाट बोक्सेका प्रधानाध्यापक जङ्गबहादुर खड्काले भने, “पाँच वर्षदेखि अङ्ग्रेजी भाषामा पनि पठनपाठन सुरु गरेपछि बर्सेनि दोब्बरको सङ्ख्यामा वृद्धि भइरहेको छ ।”

उनका अनुसार पाँच वर्ष अगाडिसम्म एउटा कक्षामा मुस्किलले एक सय जना आउने गरेकोमा अहिले एउटै कक्षामा तीन सयदेखि पाँच सयसम्म विद्यार्थीले भर्नाका लागि आवेदन दिने गरेका छन् ।

त्रियुगा नगरपालिका–९ राजाबासको अम्बेबर माविमा पनि भर्नाका लागि आवेदन दिने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षक दानबहादुर कटुवालले बताए । सरकारी विद्यालयमा जनशक्ति, व्यवस्थापन, भौतिक सुधारसँगैे अङ्ग्रेजीमाध्यमबाट पठनपाठन सुरु भएपछि विद्यार्थी तथा अभिभावकको आकषर्ण बढेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतको भनाइ छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?