३१ औं मदन–आश्रित स्मृति दिवसः प्रचण्डलाई वाम एकताको चासो, ओलीलाई काँग्रेसको चिन्ता, पूर्वराष्ट्रपतिले रोपिन् स्वामीको विरुवा

साझा कथा । आज (बुधबार) ३१ औँ मदन–आश्रित दिवस । २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा भएको दुर्घटनामा परी निधन भएको सम्झनामा यो दिवस मनाइन्छ । यस अवसरमा देशका विभिन्न भागमा नेकपा एमाले, एकीकृत समाजवादी लगायतका पार्टीहरुले विभिन्न कार्यक्रम आयोजना गरी मदन र आश्रितलाई सम्झिरहेका छन् ।

यहि सन्दर्भमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने बताएका छन् । ३० औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । बुधवार काठमाडौंमा मदन–आश्रितको ३१ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन सत्तामा मात्रै सिमित रहेको उल्लेख गरे ।

सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको बताउँदै ओलीले नेपाली काँग्रेस राजनीतिक पार्टीको संज्ञा दिनपनि मन नलाग्ने स्थितिमा पुगेको बताए । ओलीले काँग्रेस किंकर्तव्यविमुढ भएको आरोप लगाए ।

मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भने मदन भण्डारीको सालिकमा माल्यार्पण गरिन् । कोटेश्वरस्थित मदन बाटिकामा रहेको मदनको सालिकमा भण्डारीले माल्यार्पण गरेकी हुन् । यसैगरी पूर्व राष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षारोपणसमेत गरिन् । उद्यानमा उनले स्वामीको बिरुवा रोपेकी हुन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?