साझा कथा । विहानैदेखि काठमाडौं उपत्यकामा बदली भई केही स्थानमा पानी परिरहेको छ । अहिले मुलुकभर पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो मुलुकभर पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा आज दिनभर सामान्य बर्षा हुन सक्ने र फाट्टफुट्ट घाम लाग्न सक्ने मौसम विभागले जनाएको छ ।
राति कोशी प्रदेशमा आंशिक बदली रहि अन्य प्रदेशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको संभावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा तथा बाँकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।