साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने आरोप कपोलकल्पित रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले यो विषय पुष्टि भए आफू जेल जान तयार रहेको बताए ।
‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको जानकारी गराउन चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए । उनले अघि भने, ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री, डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले रुजु गरिसकेको यो विषयलाई राजनीतिक आग्रह पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं अश्चर्यमा परेको छु ।’
नेकपा एमाले निकट युवा संघ र नेता महेश बस्नेतले क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।