साझा कथा । मुगु जिल्लामा एसईई र प्लसटु पास गरेका विद्यार्थीहरुका लागि न्यायिक प्रशिक्षण सञ्चालन गरिएको छ । यस खालको कार्यक्रम मुगु जिल्लामै पहिलो पटक हो ।
‘हाम्रो समस्या हाम्रै समाधान’ भन्ने मूल नारासहित सोरु गाउँपालिकाको आयोजना र जनअधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा शनिबारदेखि सुरु भएको प्रशिक्षणमा पालिकाका १ देखि ११ वडाका ३० जना विद्यार्थीका लागि ८ दिने न्यायिक प्रशिक्षण प्रारम्भ गरिएको छ ।
गत फागुन २ गते न्यायिक समितिको बैठक बसेर सूचना जारी गरी वडा तहबाट न्यायिक समितिका सहकर्ता छनोट गरिएको न्यायिक समितिका संयोजक एवं पालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए । उनका अनुसार सूचना जारी गर्दा ६५ जनाको दरखास्त परेको र अन्तिममा ३० जना छनोट गरी न्यायिक प्रशिक्षणमा सहभागी गरिएको हो ।
प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा मुगु जिल्ला अदालतका न्यायधीश दिलकुमार बर्देवाले अदालतको न्यायभन्दा गाउँतिरको मेलमिलाप दिगो हुने बताए । उक्त प्रशिक्षणमा मुख्य प्रशिक्षक लुम्बिनी प्रदेश नेपालगन्ज उच्च अदालतका न्यायधीश वामदेव ज्ञवाली र कानुन व्यवसायी शारदा अधिकारी छन् ।