भुटानी शरणार्थी प्रकरणः केपी ओलीका स्वकीय सचिव र आइजीपी नै मुछिएपछि हंगामा

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ नयाँ खुलासा हुँदै गइरहेको छ । यो प्रकरणमा थप उच्च पदस्थ अधिकारीहरू समातिने सम्भावना देखिएको छ । यस प्रकरणमा पक्राउ परेका विचौलियाहरुले बयानका क्रममा थप उच्च पदस्थ अधिकारीहरूलाई पनि पोलेका छन् । पक्राउ परेका १६ मध्ये केहि आरोपीले तत्कालिन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकिय सचिव राजेश बज्रचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरलाई समेत मुछेका छन् ।

उनीहरु यो प्रकरणमा मुछिएपछि नेकपा एमालेभित्र मात्रै होइन, संसदमा समेत हंगामा भएको छ । नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसद बैठकमा समेत प्रहरी प्रमुख र अख्तियार प्रमुखको नाम आउँदा सरकारले उनीहरुलाई पक्राउ गरेर सोधनी गर्नुपर्ने आवाज उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुलाई आत्महत्या दुरुत्साहन मुद्दालाई देखाएर न्युज रुमभित्रैबाट घिसारेर लगिएको तर अहिले नाम मुछिएकाहरुलाई सामान्य सोधनी समेत नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

गिरोहका नाइके सानु भण्डारी र केशव दुलालले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेको बयान दिएका छन् । आरोपी भण्डारीले तत्कालीन गृहसचिव राईलाई रकम बुझाएको बयान दिएका छन् । त्यस्तै रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले प्रेमकुमारको गाडीमा एक करोड रुपैयाँ राख्न लगाएको भण्डारीले खुलाएका छन् । प्रेमकुमारले ३ करोड लिएको बयान दिएको प्रहरीले स्रोतले बतायो ।

तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले भने उर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर एक करोड रुपैयाँ लिएको बयान आरोपीहरुले दिएका छन् ।

प्रकरणमा प्रहरीले पूर्वमन्त्री रायमाझी र पूर्व सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरे पनि सानु र केशवले पोलेका एमाले अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्य, अख्तियारका प्रमुख आयुक्त रहेका राई, डा. अजयक्रान्ति शाक्य, राजेश्वर स्थापितलगायतसँग सामान्य सोधपुछ पनि गरेको छैन । यो प्रकरणमा सर्वाधिक नाम आइरहेका आरजु राणा देउवा र मञ्जु खाणलाई सार्वजनिक भएको एक अडियोमा नाम मुछिएको थियो ।

यता नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद देखिएको विववरणहरु सार्वजनिक भइरहेका छन् । गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग कुँवरको सम्पर्क र भेटघाट भएको अनुसन्धानका क्रममा भेटिएको हो ।

प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको छ, जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएका छन् । एसएसपीका रुपमा कुँवर अपराध अनुसन्धान कार्यालयको प्रमुख छँदा १८ जेठ २०७९ मा यो प्रकरणबारे पहिलो पटक उजुरी परेको थियो ।

गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग सम्पर्क रहेको व्यहोरासहित जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई नियन्त्रणमा लिएको थियो । त्यही दिन जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएका उनीहरुलाई तत्कालीन कार्यालय प्रमुख कुँवरले केही घण्टामै गृह मन्त्रालयको दबाबमा छाडेको पनि खुलेको छ । टोपबहादुर रायामाझीलाई त उनले बुटवलबाट भगाउन नै भूमिका खेलेको आरोप लागेको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?