पशुपतिको जलहरी – सुन कि पित्तल भन्ने विषयले संसद र बाहिर हंगामा, सभामुखमाथि पनि प्रश्न

साझा कथा । प्रतिनिधिसभाको बैठक सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्न केहिदिन यता चलिरहेको थियो । तर शुक्रबार एकाएक बैठक अवरुद्ध भयो र स्थगीत समेत भयो । सत्तापक्षीय एक जना सांसदले बोलेको विषयलाई लिएर नेकपा एमालेले संसद अवरुद्ध गरेको हो । संसद बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा पशुपतिमा राखिएको सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको आरोप लागेपछि आक्रोशित भएका एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।

बैठक अवरुद्ध भएपछि संचारकर्मीसँग बाहिर निस्किएर बोल्दै नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नु पर्ने माग राखे । संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नु पर्ने बताएका हुन् ।

उनले आफूले जलहरीको कुरा मात्रै संसदमा नउठाएको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका विषय उठाएको बताए । उनले तत्कालिन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनु पर्ने भनेको बताए ।

‘पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको काण्ड, ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा आएको छ, महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने त्यहाँ हिसाब प्रष्ट नभएको, सुन कम भएको, ज्याला दिएको पनि कुनै लेखाङ्कन नभएको भनेर प्रतिवेदन दिएको तथ्यको आधारमा उनको सरकारको पालामा भएको भ्रष्टाचारका काण्डहरु किन नियन्त्रण गर्न सक्नुभएन,’ उनले भने, ‘यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको हैसियतले तपाईले लिनुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा बोलेको कुरालाई उहाँहरुले अनावश्यक इस्यु उठाइरहनु भएको छ मेरो गम्भिरतापूर्वक माग के छ भने संसदीय छानविन समिति गठन गरौँ ।’

ओलीलाई व्यक्तिगत रुपमा किटान नगरेको भन्दै सांसद दाहालले आफूले संसदीय मर्यादा उल्लंघन नगरेको स्पष्ट पारे । ‘त्यो सुन कसले खायो ? नैतिक हिसाबले सरकारको नेतृत्व गरेको नाताले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले स्वभावैले केपी ओलीले लिनै पर्छ, उहाँको सरकारको पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषयवस्तु उठान भएको हो,’ उनले थपे ।

यस्तै, नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधिसभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद बैठक चल्ने धारणा राखे । उनले संसद नचलाउने नियत देखिएको दाबी गरे । उनले भुटानी शरणार्थी मुद्दालाई विषयान्तर गर्न अन्य विषयलाई संसदमा ल्याउनु जरुरी नभएको बताउँदै भने, ‘सभामुखले शुरुमै रुलिङ गरिदिएर कुनै मन्त्रीलाई यो भएको के हो यस्तो कुराहरु आयो यसको जवाफ दिन म अनुरोध गर्छु भनेको भए सदन शुरुमै चल्थ्यो ।’

उनले सदन नचलाउने नियत देखियो भन्दै भुटानी शरणार्थी मुद्दालाई डाइभर्ट गर्न फेरि अन्य इस्युहरुलाई ल्याउन खोजेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे । उनले आजै छानबिन समिति गठन गर्नु पर्ने बताए ।

‘त्यो सुन हो कि पित्तल हो भन्नेकुरा सरकारले छानबिन समिति गठन गर्नु पर्छ, सरकारले आजै जवाफ दिनुपर्छ, हाम्रो धारणा के हो भने समिति गठन हुनु पर्यो, यो विषयवस्तु टुंगिएको छैन, यो विषयवस्तु तबमात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो त्यो सरकारले जवाफ दिनुपर्छ,’ उनले भने ।

तर, एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले संसद स्थगित हुनअघि जलहरीमा सुन कि पित्तल छिनोफोनो हुनु पर्ने बताएका थिए । उनले आफ्ना नेता केपी शर्मा ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नु पर्ने बताए ।

संसदभित्र मात्रै होइन, सर्वसाधारणको बीचमा पनि यो विषयले चर्चा पाएको छ । सामाजिक सञ्जालहरुमा पशुपतिको सुनको जलहरीका विषयमा पक्ष विपक्षमा तर्क वितर्क भइरहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?