Ad Banner

प्रधानमन्त्रीको हैसियतमा प्रचण्डको चौथो भारत भ्रमणः के होला उपलब्धी ? भारतीय मिडियाको चासो तीव्र

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा चौथो पटक भारत भ्रमण गर्दैछन् । जेठ १७ गतेदेखि ४ दिनसम्म हुने प्रचण्डको भारत भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण स्वरुप भारत जान लागेका हुन्। उनी जेठ २० गते फर्किने तालिका छ।

कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन् । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दुई प्रधानमन्त्रीले लन्च समेत गर्ने तालिका छ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपालरभारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यहाँ दुई देशका व्यापारीहरूसँग पनि छलफल गर्ने तयारी छ।

त्यसपछि भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माको आयोजनामा भारतमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम छ । यस्तै उनी भारतको मध्यप्रदेशको उज्जैन र इन्दौरको भ्रमण गर्नेछन्।

शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाने औपचारिक घोषणा भएपछि अधिकाँश भारतीय मिडियाले महत्वका साथ समाचार छापेका छन् । उनीहरुले पछिल्लो समय नेपाल र भारतको सम्बन्ध सुमधुर भएको समेत दाबी गरेका छन् । साथै उनले भारतीय समकक्षीसँग के छलफल गर्लान् भन्ने विषयमा पनि ती मिडियाकाे चासाे देखिएको छ ।

प्रधानमन्त्रीको हैसियतमा चौथोपटक भारत जान लागेका प्रचण्डको भ्रमणको उपलब्धी के हुने भन्ने विषयमा सर्वत्र चासो छ । प्रचण्ड आफैँले यो भ्रमणमा ठूला उपलब्धी हुने संकेत गर्दै सार्वजनिक रुपमा बोलिरहेका छन् । उनले १ बर्षअघि निर्माण सम्पन्न भएर एअर रुट र भारत जोडिएका अन्य समस्याका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलका विषयमा कुरा उठाउने बताइएको छ । यस्तै भारतसँग बढ्दो व्यापार घाटाका सम्बन्धमा पनि द्धीपक्षीय छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालको सबैभन्दा ठूलो चासो र यसअघि पनि पटकपटक उठ्दै आएको भारतसँगको सन् १९५० को सन्धी पुनरावलोकनका विषय उठान गरे यो ऐतिहासिक भ्रमण हुने जानकारहरुले बताएका छन् ।

यो पढ्नु भयो ?