चार सय बढी चौतारा र प्रतीक्षालय भत्काएर नारायणगढ-बुटवल सडक विस्तार

साझा कथा । चौतारा र प्रतीक्षालयको महत्व उसैले बुझेका हुन्छन् – जसले आफ्नो थकाई मेट्न, सितलता प्राप्त गर्न र कसैलाई पर्खन चौतारा र प्रतीक्षालयको प्रयोग गरेका छन् । तसर्थ, अहिले पनि वरपिपलका चौताराहरु रोप्ने र प्रतीक्षालयहरु बनाउने क्रम रोकिएको छैन । सँगै विकासका पूर्वाधारहरु निर्माण गर्दा पनि यिनीहरुलाई बचाएर गरेको पाइन्छ । तर पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् ।

पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिए । “चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ”, उनले भने, “पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्याङ्क राखिएको छैन ।” यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए ।

यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताए । सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ ।

“चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो”, उनले भने, “सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ ।” पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उनको भनाइ छ । “ती चौतारा गाउँ–समाजमा भएका विवाद, झै–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन”, उनले भने ।

सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ । सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताउँछन् । विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ । बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ ।

स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताए । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर–पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ ।

अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । वरपिपलको जरा धेरै टाढासम्म फैलने भएकाले बाढीपहिरो नियन्त्रणमा यस्ता ठूला रुखहरूले महत्वपूर्ण सहयोग पुर्याउने भूगर्वविद्हरुको भनाइ छ । परिवर्तनको सङ्घारमा उभिएको वर्तमान समाजले परिवर्तनको नाममा युगौँदेखि चलिआएका सनातन चालचलन र पद्धतिलाई बिगार्न नहुने उनको भनाइ छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?