सुनाई अपाङ्गता कुन प्रकारको भन्नेमा अझै अन्यौलता छः श्रुति नेपाल

साझा कथा । ‘सुनुवाई क्षमतामा भएका बालबालिकाहरुको प्रारम्भिक पहिचानको सुनिश्चितता, सञ्चार, भाषा र गुणस्तरीय शिक्षा विकासको लागि पुर्नस्थापना सेवाको आवश्यकता’ भन्ने मूल आह्वानका साथ काठमाडौंमा आइतबार एक चेतनामूलक गोष्ठीको आयोजना भएको छ । राष्ट्रिय सुस्त श्रवण तथा पछि वहिरा भएका व्यक्तिको संगठन (श्रुति) नेपालले आयोजना गरेको गोष्ठिमा सुस्त श्रवण भएका बालबालिकाहरुको विविध सरोकारको विषयमा छलफल भएको थियो ।

कार्यक्रमका वक्ताहरुले सुस्त श्रवण भएका बालबालिकाहरुलाई राज्यले सुनाई अपाङ्गताको सूचीमा राखेको भएपनि कुन प्रकारको सुनाई अपाङ्गता हो भन्ने जानकारी आम नागरिकमा नभएकाले यो समूह एक्लिएको तथा निकै पिछडिएको धारणा राखे ।


सुनाई क्षमतामा हुने कमीले प्रत्यक्ष रुपमा बालबालिकाको बोली, भाषा र सञ्चारको विकासमा नकारात्मक प्रभाव पार्ने विज्ञहरुले बताएका छन् । कार्यक्रममा बोल्दै सरोकारवाला क्षेत्रका व्यक्तिले श्रवण शक्तिमा कमी भएको बालबालिकाको पहिचान गर्ने साधारण तरिकाहरु बताएका थिए ।


महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा मन्त्रालयका पदाधिकारीहरुले यस क्षेत्रमा सरकारले केही काम गरेपनि पर्याप्त नभएको धारणा राखे । कार्यक्रममा उपस्थित चिकित्सकहरुले यसको उपचारका विभिन्न पद्धतिहरु रहेको बताए ।

चिकित्सा उपचार अर्थात औषधि सेवन, श्रवण यन्त्र अर्थात ब्याट्रिको माध्यमबाट चल्ने यन्त्र, कक्लियर इम्प्लान्ट अर्थात कक्लियर प्रत्यारोपण र अन्य सहायक सुन्ने प्रविधिहरुको माध्यमबाट उपचार गर्न सकिने डाक्टरहरुको भनाई छ । तर, कक्लियर इम्प्लान्ट जस्ता प्रविधि महँगो हुने भएकाले सबै नेपालीको पहुँचमा नहुने उनीहरुको गुनासो छ । यसका लागि सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।


गोष्ठीमा सहभागी सुनाइ अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुले श्रुती नेपाल र नेपाल सरकारले गरेको सहयोगलाई धन्यवाद दिए । साथै, उनीहरुले सम्पूर्ण अभिभावकहरुलाई आफ्नो बच्चाको श्रवण क्षमता कस्तो छ पहिचान गर्न सुझाव दिए ।


सुस्त श्रवण भएका बालबालिकाहरुको समयमै पहिचान गर्न र उनीरुलाई सोहि अनुरुपको वातावरण सृजना गर्न नसक्ने हो भने समस्याले विकराल रुप लिने देखिन्छ । आफ्नो बालबालिकाहरु कस्तो खाले समस्याबाट गुज्रिरहेका छन् त्यसमा ध्यान पुर्याउनु सबै अभिभावकको दायित्व हो । त्यो सँगै बालबालिकाको समग्र वृद्धिविकासमा सहयोग गर्नु राज्यको दायित्व हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?