साझा कथा । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी महिला बनेकी छिन् । २६ वर्षीया उनि पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सगरमाथामा सफल आरोहण गरिन् ।
सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका लागि क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनि गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन । उनि यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरिन । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए । “खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ”, उनले भनिन । ‘छाउपडी प्रथा अन्त्य गरौँ”, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन् ।
रोकायाले वि.सं २०७५ कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गरेकी थिइन । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनिहरू साइपाल चढ्न सकेनन । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।
‘शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन, उनले भनिन, सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो । मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । “खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।’
एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन। र सगरमाथाको चुचुरोमा पुग्न करिब रु २५ लाख खर्च लागेको उनले बताइन् ।