साझा कथा । सरकारले आर्थिक बर्ष २०८०/८१ को लागि बजेट घोषणा गरेको भोलीपल्ट शेयर बजारमा ठूलो पहिरो गएको छ । बजेट घोषणापछि शेयरबजारमा आज (मंगलबार) उच्च अंकको गिरावट आएको छ । सोमबार सार्वजनिक भएको बजेटले पूँजीबजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरु निराश हुँदा नेप्से उच्च अंक घट्न पुगेको हो।
आज नेप्से परिसूचक ५३ दशमलव १६ अंकले घटेर १,८८८ दशलमव ६१ को विन्दुमा झरेको हो । मंगलबार ९ कम्पनीको शेयर मुल्य बढेको छ भने २०७ कम्पनीको शेयर मुल्य घटेको छ । आज २७५ कम्पनीको ७० लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३४ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २१ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको १० करोड ११ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । नेपाल लाइफको ८ करोडमाथिको शेयर कारोबार भएको छ ।
यसैबीच अर्थमन्त्री प्रकाशशरण महतले शेयर बजारप्रति आफू र सरकार सकारात्मक रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटका बारेमा आज मंगलबार जानकारी दिन आयोजन गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । ‘शेयर बजारप्रति हामी सकारात्मक छौं, बजार बिगार्ने कुनै नियत छैन,’ उनले पत्रकार सम्मेलनमा भने । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएका थिए ।