सोरु उपाध्यक्ष गोल्डकप भोलिबाट सुरु हुँदै, १७ टिमबीच प्रतिस्पर्धा हुने

साझा कथा । मुगु जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रथम उपाध्यक्ष गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । खेल भोलि शनिबारबाट सुरु हुँदैछ ।

सोरु गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १७ टिमले सहभागिता जनाएको छ । ‘खेलकुद क्षेत्रमा सोरुको अभियान, क्षमतावान खेलाडीको वास्तविक पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा आकर्षक पुरस्कार राखिएको छ । जसअन्तर्गत प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ६६ हजार ६ सय ६६ र तृतीय हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाहीले गर्ने भएको छ । उद्घाटनसत्रमा विविध साँस्कृतिक कार्यक्रमको समेत सञ्चालन गरिने सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजंग शाहीले बताए । उनले जिल्लामा प्रतिभावान खेलाडीहरु रहेर पनि अवसर नपाउँदा पहिचान समेत गुमाएको भन्दै यस्तो खालको कार्यक्रमको आयोजना गरिएको बताए । ‘उपाध्यक्ष गोल्डकप पुरुष फुटबल प्रतियोगिता हो, यो अब हरेक वर्ष आयोजना गरिनेछ’ उपाध्यक्ष शाहीले भने ।

गाउँपालिकाकै केन्द्र मानिने वडा नं. ६ स्थित सोरुकोट पोग्रीमा प्रतियोगिता सञ्चालन हुनेछ । जसका लागि गाउँपालिकाले ठूलो लगानी गरेर आकर्षक खेलमैदान निर्माण गरेको छ । कार्यक्रमको समापन जेठ २७ गते शनिबार कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगल शाहीले गर्नेछन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?