साझा कथा । आफ्नै बेगमा शान्त बगिरहेको छ, कञ्चनपुरको दोदा नदी । बगरभर लटरम्मै लहरेबाली फलेका छन् । बीचमा सानो सानो छाप्रो पनि भेटिन्छन् । बर्खायाममा बर्सेनि बिरुप देखाउँछ दोदाले । तटीय क्षेत्रका स्थानीयको रातको निद र दिनको चैन उडाउँछ, दोदा ।
उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबानको समस्या झेल्न बाध्य छन् तटीय क्षेत्रका बासिन्दा । वर्षायाममा दुःख दिने त्यही दोदाको बगरमा स्थानीयले गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् ।
“वर्षामा दोदाको बाढीले सास्ती दिन्छ, उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ”, कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाईका नन्दराम रानाले भने, “अरु समयमा दोदाको बगरमा तरकारी खेती गर्छौँ ।” उनले बगर छेउमा तरकारी खेती गर्न थालेको दशक भन्दा बढी भइसकेको बताए । रानाका अनुसार विसं २०६४ मा आएको बाढीले उहाँको खेतीयोग्य जमिन बगर बनाएको थियो ।
दोदा नदीले विस्थापित भएपछि कञ्चन सामुदायिक वनमा घर बनाएर बसोबास गरिरहेका छन् राना । बगरमा तरकारी खेती गरेर जीविकोपार्जन गरिरहेको उनको भनाइ थियो । “डेढ÷दुई बिघा जमिन दोदाले बगायो, बस्नलाई पनि जमिन नभएपछि विस्थापित भएका थियौँ । अहिले पनि सामुदायिक वन क्षेत्रमा घर बनाएर बस्नुपरेको छ”, रानाले भने ।
बगरमा गरिएको खेतीबाट मनग्यै आम्दानी हुने भएकाले जीविकोपार्जनमा समस्या नभएको उनले बताए । “लालझाडीका स्थानीयलाई वर्षामा दोदाको डर हुन्छ । बाँकी समय दोदाकै भरमा अर्थोपार्जन गरेर जीवन धान्ने गरेका छौँ”, रानाले भने ।
डाँडाजाईका ४७ वर्षीय मोलसिंह रानाको चार बिघा जमिन दोदाले बगाएर बगरमा परिणत गरिदियो । अहिले त्यहीँ बगरमा खेती गरेर घरखर्च धानिरहेको मोलसिंहले बताए । “सुरुमा घरमै खानलाई थोरै मात्रै खेती ग¥थ्र्यौ, आम्दानी राम्रै हुन थालेपछि व्यावसायिक रुपमा बगरमा खेती गर्न थालेका छौँ”, उनले भने ।
वर्षामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च गरिहेको मोलसिंहको भनाइ थियो । उनका अनुसार सिजनमा दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ ।