साझा कथा । भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजा गरेपछि विवादमा मुछिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड गएका छन् । आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तड गएका हुन् ।
सम्मेलनमा प्रसिद्ध योगगुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका शिद्धबाबा कृष्णदासलगायतको उपस्थिति रहने छ ।
सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको छ । सो सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।
डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ ।
खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनमा जानुअघि उनी सुर्खेत पुगेका थिए । सुर्खेत पुगेर प्रधानमन्त्रीले जेठ १६ गते सडक दुर्घटनामा दिवंगत भएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइ बुहारी डा. सञ्जु खाती खडकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली सभामा प्रचण्डसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी थिए ।