Ad Banner

सबैतिर ग्रेटर नेपालको नक्सा राख्ने सुनौलो मौका

साझा कथा टिप्पणी ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । व्यक्तिगत कामको शिलशिलामा भारत पुगेका बालेन शाहले आफ्नो कुर्सी पछाडि ग्रेटर नेपालको नक्सा राख्न लगाएका थिए । सोहि अनुसार कर्मचारीहरुले सुगौली सन्धी अघिको नेपाल समेटर बनाइएको नक्सा राखेका हुन् ।

भारतले आफ्नो नवनिर्मित संसद भवनमा पौराणिक अखण्ड भारतको मुरल राखेपछि त्यसको प्रतिक्रिया स्वरुप नेपालमा पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ । जनआवाज सम्बोधन गर्दैै बालेनले भारत जानुअघि काउन्टरमा सो कार्य गरेको बुझ्न कठिन छैन । नेपाली मूलधारका राजनीतिक पार्टी र तिनका नेताहरुले गर्न नसकेको आँट बालेन शाहले देखाएका छन् । भारतसँगको सम्बन्धका कारण कतिपय नेताहरु यो विषयमा बोल्न समेत आँट नगरिरहँदा बालेनको यो कदमलाई सर्वत्र स्वागत गरिएको छ । नयाँ र पुराना पार्टी तथा पदाधिकारीहरुबीच यहि भिन्नता रहेको चर्चा समेत हुन थालेको छ ।

त्यसो त अहिले सामाजिक सञ्जाल र अन्य मिडियामा पनि नेपालले ग्रेटर नेपालको नक्सा छापेर संसद भवनमा राख्नुपर्ने माग उठिरहेको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले समेत विराटनगर पुगेर नेपालले पनि ग्रेटर नेपालको नक्सा छाप्नुपर्ने र त्यसो गर्दा कसैको अहित नहुने बताएका छन् । थापाले नेपालले पनि आफ्नो ‘ग्रेटर नेपाल’ जारी गरी हक खोज्नुपर्ने बताएका छन् ।

सुगौली सन्धीअघि नेपालको भूभाग अहिलेको जस्तो थिएन । भारतमा शासन गरिरहेको व्रिटिश इष्ट इन्डिया कम्पनीसँग १९१६ मा भएको सन्धीअघि नेपाल भूगोलका हिसाबले अहिलेको भन्दा दोब्बर ठूलो थियो । भारतमा अंग्रेजले शासन गर्नुभन्दा अघि र सुगौली सन्धी नहुञ्जेलसम्म भारतका उत्तरप्रदेश र विहारका कैयौँ भाग, पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म नेपालको भूभाग थियो । जसलाई हामी ग्रेटर नेपाल भनेर बुझ्छौँ । फणिन्द्र नेपालले संचालन गरेको संस्थाले ग्रेटर नेपाल कायम हुनुपर्छ भन्दै अभियान चलाइरहेको छ ।

सुगौली सन्धी वेलायत र मुलतः ब्रिटिश इष्ट इन्डिया कम्पनीसँग भएको हुनाले यसमा भारतको कुनै साइनो छैन । बेलायतबाट १९४७ सालमा स्वतन्त्र भएको भारतले त्यसको ३ बर्षपछि नेपालसँग शान्ति तथा मैत्री सन्धी गरेको छ । त्यो सन्धीको कुनै पनि बुँदामा नेपाल र बेलायतबीच भएको सम्झौता कायम रहने वा अब उप्रान्त सुगौली सन्धीले खुम्च्याएको नेपालको भूभाग नै नेपालको हुने कुरा उल्लेख गरिएको छैन । त्यतिखेरका शासकहरुले बोल्ने आँट नगर्दा र नेपाली पक्ष लाचार भएकै कारण सुगौली सन्धीको विषय उल्लेख समेत नभएको शान्ति तथा मैत्री सन्धीपछि नेपालले आफ्नो भूभाग छोडेको देखिन्छ । यस्तो अवस्थामा अखण्ड भारतका कारण तातिएको यो माहौलमा नेपालले पनि सबैतिर ग्रेटर नेपालको नक्सा छाप्ने र राख्ने काम गर्नुपर्छ । फलाम तातेकै बेला आकार दिन सकिन्छ । यो सुनौलो मौका हुन सक्छ ।

सो भूभाग फिर्ता ल्याउनका लागि बेलायत, भारत र नेपालबीच वृहत्तर छलफल जरुरी हुन्छ । छलफलले निश्कर्ष दिन नसके अन्तर्राष्ट्रिय अदालत गुहार्नु पर्ने पनि हुन सक्छ । यी झण्झटिला र लामो समय लाग्ने विषय हुन् । तर यी काम गर्नुअघि नेपालीको भावनालाई सम्मान गर्दै सरकारको तर्फबाट र नागरिक समाजको तर्फबाट ग्रेटर नेपालको नक्सा सबैतिर राख्न कसैले रोक्न सक्दैन । भारतले राखेको अखण्ड भारतको काउन्टरमा सरकारले संसदमै यो तस्बिर राख्न सक्छ । यति काम गर्न भारतलाई सोधिराख्नु पनि पर्दैन ।  र यत्ति कारणले सदियौँदेखिको नेपाल भारत सम्बन्धमा खलल पनि आउदैन, आउनुपर्ने कारण नै छैन ।

 

यो पढ्नु भयो ?