साझा कथा । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।
यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । महानगरपालिकाले जारी गरेको सूचनामा जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउनसमेत आग्रह गरेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले माईक्रोबसका लागि लोत्से मल पछाडि छुट्टै टिकट काउण्टर निर्माण गरिदिएसँगै काठमाडौँबाट नारायणगढ, भैरहवा, सुनौली, लुम्बिनी, तौलिहवा, पोखरा, स्याङ्जा, वालिङ, गल्याङ, बाग्लुङ, बेनी, बुर्तिवाङ, कुश्मा, चापाकोटलगायत स्थानमा जाने माईक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् ।
लोत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कभित्र सञ्चालन हुने माईक्रोबसका लागि छुट्टै टिकट काउन्टर निर्माण गरेको जानकारी दिए । यसअघि काठमाडौँबाट चितवन, नवलपरासी, भैरहवा जाने माईक्रोबस कलङ्कीको मुख्य सडकबाट गुड्दै आएका थिए ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माईक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउ, धादिङ, रसुवा नुवाकोट जाने सवारीसाधन माछापोखरी र गोरखा चल्ने माईक्रोबस बालाजु क्षेत्रबाट सञ्चालन हुँदै आएका थिए । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस भने अहिलेपनि चक्रपथको मुख्य सडकलाई बसपार्क बनाएर सञ्चालन हुँदै आएका छन् ।
काठमाडौँ महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठले चक्रपथ विस्तारको काम सुरु भएपछि सडकको वरिपरिबाट अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्नेगरी काठमाडौँ महानगरपालिकाले काम गरिरहेको बताए ।