साझा कथा । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण देशभर बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् ।
विगतका वर्षमा धेरै ठाउँमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । केही स्थानमा त धान रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष भने अधिकाँश जिल्लामा कतै पनि रोपाइँ सुरु हुन सकेको छैन । लामो समयदेखि वर्षा नभएका कारण कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको छ ।
सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको छ । पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको छ । केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।
उदयपुरका कृषक विष्णु कार्की भन्छन्, “आफ्नो भएको झन्डै एक बिघा जग्गा सबै खेतमा यसपटक मकैबाली लगाएको हुँ, जेठको दोस्रो हप्तादेखि राम्ररी मकैको सुत्ला लाग्न थालेको थियो, तर सुक्खा र खडेरी लागेपछि अहिले पात मर्न थाले, मकैको बोट पात सुकेर सिक्रिक्क परिसकेका छन्, यसपटकको मकैबाली खान नपाइने भयो ।”