साझा कथा । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दुम्कौलीमा लामो समयदेखि पानी नपरेपछि ‘इन्द्रपूजा’ गरिएको छ।
देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले इन्द्रको पूजा गरेका हुन्। खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन् ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर पानी मागेको बताए।
पूूजा गरेमा पानी पर्ने जनविश्वासका साथ गाउँका सबै जना भेला भएर इन्द्र पूूजा गरिएको उनले बताए। ‘देशको अन्य स्थानभन्दा दुम्कौलीको तापक्रम अधिक बढेको कारण स्थानीय भेला भएर धूमधामका साथ इन्द्रको पूजा गरेका हौँ’, उनले भने। जेठको सुरुदेखि नै तापक्रम वृद्धि भइरहेको दुम्कौलीमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।
दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको मकै सुकेको बताए। इन्द्र खुशी भएमा पानी पारिदिने जनविश्वाससहित स्थानीयले मन्दिरमा ब्राह्मणद्वारा पाठ पारायणसहित हवन गर्नुका साथै भजनकीर्तनसमेत गरेका थिए।