साझा कथा । चर्को गर्मी र तराई लु चल्न थालेपछि आक्रान्त भएको नेपाली जनजीवनमा शितलता छाउन थालेको छ । किनकी यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला गरी मनसुन भित्रिएको हो ।
कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आइपुगेको छ ।मनसुन जेठ २५ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट एक सातामा मनसुन नेपाल आइपुगेको हो । मौसमविद् विनु महर्जनका अनुसार मनसुन नेपालमा मनसुन भित्रिएर पूर्वी र मध्येभागमा पानी पर्न सुरु गरेपनि पश्चिमी भूभागमा मनसुनी वर्षा हुन अझै केही दिन लाग्ने छ ।
यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरकफरक हुने छ ।
यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर गत वर्ष औसतमै वर्षा भएको थियो । दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो ।