साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जोगाउन भ्रष्टाचारीहरूसँग कुनै सम्झौता नगर्ने प्रष्ट पारेका छन् । पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उनले बरु आफू सरकार छाड्न तयार रहेको बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थकै लागि कसैलाई उन्मुक्ति दिने हो कि भन्ने आशंका गर्नेहरु पनि छन् भन्दै उनले भने, ‘कतै सत्तारुढ दल सरकार टिकाइ राख्नका लागि भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने हो कि भन्ने भ्रम सृजना भइरहेको छ । हामी सत्ता स्वार्थकै लागि उन्मुक्ति दिने पक्षमा छैनौं । बरु सरकार छोड्न परे पनि परोस् ।’
भ्रष्ट्राचार विरुद्धका अभियान जारी रहने बताउँदै प्रचण्डले कसैलाई शंका नगर्न आग्रह गरे । उनले घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको जिकिर गरे । सरकारले गरेका राम्रा कामको प्रचार गर्न र राम्रा कामलाई पनि नराम्रो भन्नेहरुको प्रतिवाद गर्न उनले पार्टी निकट पत्रकाहरुलाई निर्देशनसमेत दिए ।
उनले भने, ‘राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई यो राम्रो हो भनेर जनतालाई बुझाउने कुरा र भ्रमलाई चिर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । राम्रो गर्ने र राम्रोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्रै आन्दोलनलाई, जनतालाई र राष्ट्रलाई राम्रो गर्न सकिन्छ भन्ने नै मुख्य कुरा हो ।’
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।
बुधबार नै पूर्व शिक्षामन्त्री एवम् माओवादी केन्द्रका दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ । कतिपयले आशङ्का गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर प्रष्ट रूपमा भन्छु, सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मुल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कही सम्झौता हुँदैन, झुकिँदैन ।’’