साझा कथा । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्व नेकपाबीच मोर्चाबन्दी गर्न अन्तिम कसरत भइरहेको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दल मिलेर यही असार ४ गते समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकले मोर्चा घोषणाको मिति तय गरेको हो।
‘असार ४ गते समाजवादी मोर्चा घोषणा गर्ने तय भयो’, माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले पत्रकारहरूसँग भने ।
आज बिहान बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएका थिए।
समाजवादी मोर्चामा डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको संयोजकत्वमा रहेको राष्ट्रिय एकता अभियानसमेत ६ दल समेट्ने तयारी रहे पनि आजको छलफलमा भने बाबुराम र वामदेव सहभागी भएनन्। अर्को बैठक बसेर उनीहरूलाई सहभागी गराउने तयारी भइरहेको नेताहरूले बताएका छन् ।
घोषणा गर्न लागिएको समाजवादी मोर्चाको नेतृत्व आलोपालो हुने भएको छ । मोर्चाको नेतृत्व सहभागी सबै दलबीच आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटिसकेको हो । पार्टी अध्यक्षहरूले आलोपालो नेतृत्व गर्ने गरी मोर्चा गठन हुने र काम गर्दै जाँदा विचार मिल्यो भने एउटै पार्टी हुने पनि यसको दीर्घकालीन लक्ष्य छ ।