पूर्वी नेपालमा बाढीको वितण्डा, कोशी र गण्डकीमा आजपनि भारी वर्षा हुने

साझा कथा । लगातार परेको वर्षाका कारण देशको पूर्वी भागमा बाढीले वितण्डा मच्याएको छ । पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, संखुवासभा लगायतका क्षेत्रमा ठूलो जन र धनको क्षति पुर्याएको छ ।

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।

यस्तै फिदिम –४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।

बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

यस्तै, सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ ।

यता, ताप्लेजुङमा शनिबार राति गएको पहिरोले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो ।

निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन् । मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन् ।

यस्तै, सोही स्थानका गणेश तामाङलाई पनि पहिरोले बगाएर बेपत्ता भएको छ । बेपत्ता हुनेको अहिले खोजी सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ ।

आजपनि कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा, कोशी प्रदेशका तराई भू–भागका साथै देशका बाँकी पहाडी भेगका थोरै स्थान र देशका बाँकी तराई भू–भागमा एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?