साझा कथा । राजनैतिक रुपमा अलपत्र जीवन विताइरहेका पूर्व एमाले उपाध्यक्ष बामदेव गौतम पुनः एमाले प्रवेश गर्न लालायित छन् । केहि समयअघि संसद भवनबाहिर संचारकर्मीसँग र १ दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एमाले फर्कने इच्छा जाहेर गरेका गौतम यतिबेला फेरि चर्चामा छन् ।
समाजवादी मोर्चामा जाने यसअघिको हल्लालाई हल्ला साबित गर्दै गौतम एमाले फर्किने लगभग पक्का भएको छ । एमालेमै फर्किन उपयुक्त जिम्मेवारीको खोजीमा रहेका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका गौतमले एमाले अध्यक्ष केपी ओलीसँग समाजवादको कार्ययोजनासहितको प्रस्ताव बुझाएका छन् ।
गौतमले ओलीलाई छलफलका लागि भन्दै आफनो तर्फबाट पारम्भिक प्रस्ताव आइतबारको भेटमा बुझाएका हुन् । उनले एमालेमा आफुलाई उपयुक्त जिम्मेवारी दिएमा एकता राष्ट्रि«य अभियानका सम्पूर्ण सदस्यलाई एमालेमै ल्याएर गाभ्ने बताएका थिए । उनले समाजवाद निर्माणको लागि आफुले सारेको योजना कार्यान्वयन गरेमा मात्र समाजवाद प्राप्तीको दिशामा जान सकिने बताएका छन् ।
उनले लिखित रुपमा नै ओलीसँग तेह्रपन्ने अवधारणा बुझाएका हुन् जुन आफैँमा हास्यास्पद छन् । झण्डै ५० बर्ष नेपाली राजनीतिमा विताएका गौतमले लोकतन्त्र प्राप्तिको लागि दिएको योगदान बाहेक सम्झन लायक विषय अरु छैन । तर उनै गौतमले समाजवादसम्मको यात्राको लागि भन्दै प्रस्ताव पठाएका छन्, जुन लाज छोप्ने अस्त्र मात्रै हो ।
‘नेपाली विशेषताको समाजवाद निर्माण सम्बन्धी प्रारम्भिक अवधारणा’ शीर्षमा उनले कृर्षिमा के गर्ने, जलस्रोतमा के गर्ने, रोजगारी सिर्जनाका लागि के गर्ने भन्ने सम्मको ब्याख्या गर्न भ्याएका छन् । उनले आचारसंहितामा के गर्ने र समाजवाद निर्माणको यो योजना कार्यान्वयन पछिको अनुमानित उपलब्धि के हुने सम्मको विश्लेषण गरेर ओलीलाई आफनो पारम्भिक अवधारणा पत्र बुझाएका हुन् ।
एमाले अध्यक्ष ओलीमाथि समकक्षी र पार्टीकै केहि नेताहरुले जालझेल तिकडम गर्ने नेता भनेर आरोप लगाउने गर्छन् । उनीमाथि संविधान मिचेको आरोप समेत लाग्नेगर्छ । त्यसैतर्फ संकेत गर्दै गौतमले अगाडी सारेको अवधारणामा जालझेल–तिक्डम गर्न नहुने, संविधान मान्नुपर्ने देखि हरेक नागरिकले बिहान–बेलुका एक एक घण्टा व्यायाम गर्नुपर्नेसम्मका विषयहरू समेटेका छन् जुन हास्यास्पद छन् ।
यस्तै हरेक परिवारलाई श्रमसँग जोड्नुपर्ने, १८ वर्ष पुगेका हरेक व्यक्ति कुनै न कुनै काममा सहभागी हुनुपर्ने, सरकारले जारी गरेको निर्देशिकाहरूको पालना गर्नुपर्ने उनले आफनो अवधारणमा उल्लेख गरेका छन् । उनले आफनो अवधारणा कार्यान्वयनमा गए आगामी १० वर्षपछि नेपालबाट बेरोजगारी समाप्त हुने, आगामी १० वर्षपछि १८ वर्ष उमेर पुगेका सबै नेपाली नागरिक कुनै न कुनै रोजगारीमा आवद्ध हुने र भ्रष्टाचार र व्यभिचार करिब ९५ प्रतिशत समाप्त हुने जिकिर गरेका छन् ।
ओलीले भने गौतमको अवधारणामा पार्टी सचिवालय र पदाधिकारी बैठकमा छलफल गरेर निर्णय दिइने बताएका छन् । यस्तै प्रस्ताव गौतमले यसअघि माओवादी अध्यक्ष प्रचण्डलाई पनि बुझाएका थिए ।