समाजवादी मोर्चाः अस्तित्व रक्षा र अनेक दाउ

साझा कथा टिप्पणी
लिभिङ टुगेदर जस्तै सम्बन्धमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको कोठामा प्रवेश गरेको छ, प्रचण्डसँग रिसाएर हिँडेको विप्लव नेतृत्वको नेकपा । त्यहि घरमा आउन खोजिरहेका थिए, बाउँठिएर नयाँ शक्ति पार्टी हुँदै घरबारविहिन भएको डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी र अलपत्र जीवन विताइरहेका बामदेव गौतम । तर अहिलेका लागि भट्टराई र गौतम बाहिर नै रहने भएका छन् । गौतम चाँडै एमाले प्रवेश गरेको पनि देख्न सकिने पक्कापक्की जस्तै भएको छ ।

मनमा जे जस्तो उदेश्य भएपनि सार्वजनिक रुपमा यी दलका नेताहरुले भनिरहेका छन्, नेपालमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि हो यो समाजवादी मोर्चा । यसलाई सैद्धान्तिक लेपन पनि लगाउने कोशिस गरिएको छ, समाजवादी यात्राको नाममा । अहिले चर्चामा रहेको समाजवादी मोर्चाको भित्री उद्देश्य के होलान् ?

समाजवादी मोर्चा निर्माणको पहिलो उद्देश्य हो, अस्तित्व रक्षा । २०६४ सालमा देशको सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्र विभाजन हुँदा हुँदा अहिले फाटेको लुगा जस्तै भएको छ । जताबाट ताने पनि च्यातिने खालको । पछिल्लो चुनावमा ३२ सिटसहित तेस्रो शक्ति बनेको माओवादी केन्द्र आफ्नो अस्तित्व रक्षाको लडाईँमा छ । माओवादीका अध्यक्ष प्रचण्डको चतुर्याईँकै कारण अहिले सरकारको नेतृत्व त गरिरहेको छ तर पार्टीमाथि कालो बादल मडारिएकै छ । आगामी चुनावमा माओवादीको हैसियत दयनीय हुने विश्लेषण भइरहँदा संसद र बाहिर रहेका दलहरुलाई मिलाएर शक्ति आर्जन गर्ने दाउमा छन् प्रचण्ड । समयले साथ दिए अर्को चुनावसम्म पार्टी एकता गर्ने, नभए चुनावमा गठबन्धन गर्ने र त्यसैबाट १०–१२ सिट बढाउने योजनामा छन् उनी ।

मनमा जे जस्तो उदेश्य भएपनि सार्वजनिक रुपमा यी दलका नेताहरुले भनिरहेका छन्, नेपालमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि हो यो समाजवादी मोर्चा । यसलाई सैद्धान्तिक लेपन पनि लगाउने कोशिस गरिएको छ, समाजवादी यात्राको नाममा ।

संसदको छैठौँ ठूलो दल हो उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी । १५ बर्षदेखि मधेसमा एकछत्र राज गरिरहेका उपेन्द्रको सिंहासनमा हमला गरेका छन् सिके राउतले । मधेसको वैकल्पिक शक्ति बनेर उदाइसकेका सिके राउतले अर्को चुनावमा जनता समाजवादीको अस्तित्व मेटाइदिन सक्ने अड्कल छ मधेसमा । यस्तो अवस्थाका बीच माओवादी र एकीकृत समाजवादीको साथ लिएर ८–१० सिटको रक्षा गर्ने दाउमा छन् उपेन्द्र यादव ।

यस्तै दाउमा छन् नेकपा एमालेबाट छुट्टिएर नयाँ पार्टी बनाएका माधव कुमार नेपाल । देशभर ३ लाख मतदाता समेत नरहेको एकीकृत समाजवादीबाट पालैपालो नेता कार्यकर्ताहरु एमालेतर्फ फर्किन थालेका छन् । १० जना सांसदमध्येबाटै कोहि एमालेतिर गइदेला भन्ने ठूलो पीर छ उनलाई । २०८४ सालसम्म आइपुग्दा सिमित नेता बाहेक कोहि नहोलान् कि भन्ने पीरले गाँजेका माधव नेपाल पनि अस्तित्व रक्षाकै लागि दौडधुपमा छन् ।

उता दोस्रो प्रचण्ड बन्छु भन्ने महत्वाकांक्षा बोकेर कपिलवस्तुको जंगलमा मिनी जनसेना निर्माण गरेका विप्लवले पनि पछिल्लो १० बर्षमा धेरै पाठ सिके होलान् । नेपालमा मौलिक क्रान्ति गर्छु भन्ने मृगतृष्णा बोकेर हिँडेका विप्लव पनि राजनैतिक अस्तित्व रक्षाको लागि संघर्षरत छन् । यी सबै दल चाहन्छन्, २०८४ सालपछि पनि नेपाली राजनीतिमा अनुहार विकिरहोस् ।

समाजवादी मोर्चा निर्माणको दोस्रो उद्देश्य प्रचण्डसँग मात्रै सम्बन्धित छ । प्रचण्ड अहिले देशको प्रधानमन्त्री छन् । प्रधानमन्त्री आफू भएपनि संसदको सबैभन्दा ठूलो दल भएको नाताले नेपाली काँग्रेस स्वभाविक रुपमा उनीमाथि हावी भइरहेको छ । काँग्रेसको चित्त नबुझेको दिन प्रचण्ड सरकारबाट ओर्लनुपर्ने छ । तर ५४ सिटसहितको मोर्चाबन्दी भएमा उनको वार्गेनिङ शक्ति बढ्नेछ वा शक्ति कमजोर हुने छैन । कारण सरकार ढलेपनि अर्को सरकार बनाउन फेरि प्रचण्ड नै निर्णायक हुनेछन् । यसले काँग्रेसमाथि मनोवैज्ञानिक दवाव बढाउन सकिने भित्री उद्देश्य छ प्रचण्डको ।

काँग्रेसको चित्त नबुझेको दिन प्रचण्ड सरकारबाट ओर्लनुपर्ने छ । तर ५४ सिटसहितको मोर्चाबन्दी भएमा उनको वार्गेनिङ शक्ति बढ्नेछ वा शक्ति कमजोर हुने छैन । कारण सरकार ढलेपनि अर्को सरकार बनाउन फेरि प्रचण्ड नै निर्णायक हुनेछन् । यसले काँग्रेसमाथि मनोवैज्ञानिक दवाव बढाउन सकिने भित्री उद्देश्य छ प्रचण्डको ।

मोर्चा निर्माणको तेस्रो उद्देश्य हो, प्रचण्ड र माधव नेपालको एमाले विरोधी समान धारणा । प्रचण्ड र माधव नेपालहरुले २०७९ कै चुनावमा काँग्रेससँग गठबन्धन गरेर एमालेलाई साइजमा ल्याउने प्रयास गरेका थिए । तर अपेक्षा अनुसारको नतिजा आएन । चुनावअघिकै योजनालाई नयाँ ढंगले कार्यान्वयन गर्न मोर्चाबन्दीको योजना बनाएका हुन् प्रचण्ड र माधव कुमार नेपालले । चुनावअघि पनि एमालेसँग राजनैतिक लडाईँ त लड्नैपर्नेछ । एमालेसँग एक्लाएक्लै मुकाबिला गर्नुभन्दा मोर्चा बनाएर मुकाबिला गर्दा बल आउँछ भन्ने लागेको छ उनीहरुलाई ।

विभिन्न दाउपेच बोकेर गठन हुन लागेको समाजवादी मोर्चा नयाँ कलहको विउ पनि हुनसक्छ । मोर्चा निर्माण हुँदै गर्दा एकले अर्कालाई प्रयोग गर्ने नीति लिएका कारण मोर्चामा आवद्ध दलहरुबीच ठूलो फाटो नआउला भन्न सकिन्न । पूर्व र पश्चिम फर्किएका दलहरु एउटै मोर्चामा कसरी टिक्न सक्लान् भन्ने प्रश्न पनि छ । मोर्चाबन्दी भएपछि हुने छलफलहरुमा फेरि कार्यदिशाकै लफडा पर्ने, संवैधानिक निकायहरुमा विप्लवले पनि भाग खोज्ने, सरकारमा माधव नेपाल हावी हुन खोज्ने, उपेन्द्रले मधेस देखाएर निहुँ खोज्ने काम नहोला भन्न सकिन्न । अहिले आफ्नो–आफ्नो भान्सा गरेका यी दलहरुले एउटै थालमा खान थालेभने जुठो त अवश्य पर्नेछ ।

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?