साझा कथा । केहि महिनादेखि निरन्तर विरामी भइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरी पेसमेकर राखिएको हो ।
गत शनिबार राति राष्ट्रपति पौडेल शीतल निवासमै बेहोस भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । आज मध्यान्ह १२ बजेदेखि २ बजेसम्म राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ ।
गत हप्ता मात्रै पौडेललाई छातीमा असहज भएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो ।
पौडेलको मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेस मेकर राखिएको हो । पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ ।
राष्ट्रपति पौडेल अढाई महिनामै पाँचौँ पटक अस्पताल भर्ना भए । अल्सर, ढाड दुख्ने र छातीसम्बन्धी समस्याबाट मुक्त नहुँदै ७९ वर्षीय राष्ट्रपति पौडेललाई पछिल्लो पटक मुटुको समस्या देखिएको छ ।