यसकारण समाजवादी मोर्चामा अटाएनन् बाबुराम भट्टराई, माधव नेपालको पार्टी गम्भीर मोडमा

साझा कथा । सत्तारुढ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी तथा विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा गठन भइसकेको छ । मोर्चाका विषयमा विभिन्न टिप्पणी भइरहेका छन् । वास्तवमा यस्तो खालको मोर्चा बनाउनुपर्ने भन्दै सार्वजनिक रुपमा बोल्दै हिँड्ने पहिलो नेता हुन् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई ।

तर उनै भट्टराई अहिले मोर्चाबाट बाहिर छन् । सोमबार मोर्चा घोषणा भएपछि उनले तिखो टिप्पणी पनि गरेका छन् । तर मोर्चा घोषणा हुनुभन्दा अघिल्लो साँझ मात्रै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँग उनले भेटवार्ता गरेका थिए र हौसिएर स्टाटस समेत लेखेका थिए, कसैलाई भ्रम नहोस् भन्दै । तर भोलीपल्टै उनी किन बाहिरै बसे भनेर विभिन्न अड्कलबाजी भइरहेको छ । स्रोतका अनुसार समाजवादी मोर्चामा दुई नेताबीच एकले अर्कालाई स्वीकार गर्ने अवस्था नरहेपछि एक जना नेता बाहिरै बस्नुपर्ने भयो ।

संसदमा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मोर्चाबाहिर रहने धम्की दिएपछि डा. बाबुराम भट्टराई मोर्चाबाट बाहरै रहेका हुन् । यादवको धम्कीपछि मोर्चाको अवधारणा बाहिर ल्याउने डा. भट्टराई नै मोर्चाबाट बाहिर बस्न बाध्य भए जुन प्रचण्डले चाहेका थिएनन् । तर संसदीय अंकगणितको हिसाब गर्दा तत्कालका लागि भट्टराई भन्दा यादव नै प्रचण्डको लागि आवश्यक थिए ।

एक समय डा. भट्टराई र यादव एउटै पार्टीमा थिए । पार्टी थियो जनता समाजवादी पार्टी । तर, दुई नेताबीच कुरा नमिलेपछि भट्टराईले आफ्नो समूह बाहिर निकालेर नेपाल समाजवादी पार्टी बनाए । त्यसपछि विग्रिएको यादव र भट्टराईबीच सम्बन्ध अहिलेसम्म सुधार हुन सकेको छैन ।

उता मोर्चामा आवद्ध एकीकृत समाजवादीभित्र असुन्तुष्टिको आगो भित्रभित्रै फैलिरहेको छ । समाजवादीमा रहेका वरिष्ठ नेता मुकुन्द न्यौपाने लगायतका नेता एमाले फर्किएका छन् । माधव नेपालले पार्टीलाई अन्ततः माओवादीमै विलय गराउने भन्दै असन्तुष्टि जनाउनेहरू एमालेमा फर्कन खुट्टा उचालेर बसेका छन् । घर फर्किनेलाई उचित जिम्मेवारी र सम्मान दिने घोषणा गरेको एमालेले ७० वर्षको उमेर हद भर्खरै हटाएको छ । यही बेला एकीकृत समाजवादीमा देखिएको असन्तुष्टि विभाजनसम्म पुग्न सक्ने कतिपयको अनुमान छ ।

पछिल्लो समय संसदमा देखिन्छ एकीकृत समाजवादीभित्रको झगडा । संसदीय दलका उपनेता समेत रहेका राजेन्द्र पाण्डे आफ्नै पार्टी सहभागी भएको सरकारले ल्याएको बजेट पास हुन नदिने अडानमा छन् । माधव नेपाललाई नै अप्ठेरो पर्नेगरी बजेटलाई लिएर आफ्ना सांसदहरूले आवाज उठाइरहँदा उक्त पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालले त्यसलाई जायज ठानेका छन् । उनले कहिले मोर्चाको प्रधानसत्रु किटान गर्नुपर्ने त कहिले एमालेसँग एकता गर्नुपर्ने आवाज उठाएर पार्टीभित्रको अन्तरविरोध सार्वजनिक गरिरहेका छन् । अहिले समाजवादी मोर्चा गठन हुँदै गर्दा माधव कुमार नेपाल लगायतका नेताहरु खुशी देखिएपनि राजेन्द्र पाण्डे, प्रेम आले लगायतका सांसदहरु भने खुशी देखिदैनन् । यसले पार्टी गम्भीर मोडमा पुगेको विश्लेषण गर्न सकिन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?