Ad Banner

यी हुन् संसदमा पुगिरहने १२ सांसदहरु, नयाँ पार्टीकै सांसद बस्दैनन् बैठकमा

साझा कथा । प्रतिनिधि सभा कानून निर्माणको मूख्य थलो हो । नीति निर्माण गर्ने र जनताका आवाज, समस्या तथा राष्ट्रिय अन्तर्राष्ट्रिय समस्या उजागर हुने ठाउँ हो प्रतिनिधि सभा । तर त्यहि प्रतिनिधि सभामा अधिकाँश सांसद नियमित उपस्थित हुँदैनन् । पुराना पार्टीका सांसदहरुको त पुरानै रोग हो, बैठकमा नजानु । तर नयाँ भनिएका पार्टीका सांसदहरु समेत सूचना नदिइकन बैठकमा उपस्थित हुनु झन् उदेक लाग्दो कुरा हो । आफैँले बनाएको नियमावली उल्लंघन गर्दै ती सांसदहरू अनुपस्थित भएका हुन् ।

२०७९ मंसिर ४ गते निर्वाचित भएर आएका प्रतिनिधि सभाका २७५ सांसद मध्य संसद्को पहिलो अधिवेशनमा १२ सांसद मात्रै नियमित उपस्थित भएका छन् । २५ पुसदेखि १५ वैशाखसम्म चलेको प्रतिनिधि सभाको पहिलो अधिवेशनमा १२ सांसद मात्रै सबै बैठकमा उपस्थित भएका संघीय संसद् सचिवालयले जनाएको छ ।

पहिलो अधिवेशनमा पुसमा दुई, माघमा आठ, फागुनमा चार, चैतमा नौ र वैशाखमा ६ गरी २९ बैठक चलेका थिए । त्यही अधिवेशनले नयाँ सरकार, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति पनि निर्वाचित गरेको थियो ।

यस अधिवेशनका २९ वटा बैठकमा सहभागी हुने सांसदहरु पनि छन् तर नगन्य रुपमा । दिलेन्द्र बडू, देवराज घिमिरे, नागिना यादव, रघुजी पन्त, रामहरि खतिवडा, रुक्मणि राना बराइली, विना लामा, विनिताकुमारी सिंह, शान्ति श्रेष्ठ, संगीता मण्डल धानुक, हितराज पाण्डे र ज्ञानु बस्नेत सुवेदी मात्रै ती सांसद हुने जो नियमित संसद बैठकमा उपस्थित भएका छन् । संसद सचिवालयको रेकर्ड अनुसार २०५ सांसद त जानकारी नदिएरै अनुपस्थित भएका छन् ।

प्रतिनिधि सभा नियमावली अनुसार एक दिन पनि अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्छ । पूर्वसूचना दिन नसके उपस्थित भएको तीन दिनभित्र कारण खुलाएर सभामुखलाई जानकारी दिनुपर्छ । पूर्वसूचना त परको कुरा, तीन दिनभित्र जानकारी नदिने सांसदहरू पनि उल्लेख्य मात्रामा छन् । ११ सांसद मात्रै सूचना दिएर अनुपस्थित भएका छन् । ४६ सांसदले धेरै दिन अनुपस्थित रहेर थोरै दिनको सूचना दिएका छन् । लगातार १० वटा बैठकमा सूचना नदिई अनुपस्थित भएमा स्वतः पद रिक्त हुने बाध्यात्मक व्यवस्था भएकाले त्यस्तो अवस्थामा सांसदहरूले ढिलो गरेर सूचना दिने गर्छन् ।

यो पढ्नु भयो ?