साझा कथा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच पछिल्लो समय छलफल घनीभूत भइरहेको छ । कहिले प्रधानमन्त्री निवास बालुवाटारमा त कहिले सिंहदरबारमा, प्रचण्ड र विप्लवबीच भेटवार्ता भइरहेको छ । विहीबार मात्रै प्रचण्डलाई भेट्न चन्द प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
दुई नेताबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धि रक्षाबारे गम्भीर छलफल भएको प्रधानमन्त्री दाहालकी छोरी गंगा दाहालले बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धीको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल ।
सोमबार मात्रै सत्तामा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहित समाजवादी मोर्चा घोषणा गरिएको थियो । डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, माधव नेपाल लगायतका पार्टीबीच मात्रै मोर्चाबन्दीको प्रयास भएपछि धेरैपछि इन्ट्री गरेका हुन् विप्लव । उपेन्द्र यादवका कारण भट्टराई नअटेपनि विप्लवलाई भने पार्टी एकता गर्ने गरी मोर्चामा ल्याइएको स्रोत बताउँछ ।
विप्लव निकट स्रोतका अनुसार उनलाई माओवादीमा महासचिव दिने तयारी गरिएको छ । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले यसमा पहल गरिरहेका छन् । पार्टीभित्र बर्षमान पुन र जनार्दन शर्माबीच चलिरहेको जुंगाको लडाई मथ्थर पार्न र महासचिव पद देव गुरुङलाई दिएकोमा पार्टीभित्र चुलिएको असन्तुष्टि सम्बोधन गर्न प्रचण्ड विप्लवलाई महासचिव दिने निश्कर्षमा पुगेका हुन् ।
महासचिवमा दाबी गरेका बर्षमान पुन र जनार्दन शर्मालाई चक्मा खुवाउँदै प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए । यसपछि पुन र शर्मा निकट नेताहरु प्रचण्डसँग रिसाइरहेका छन् । बर्षमान पुन चीनमा उपचार गरेर भर्खर फर्किएका छन् भने शर्मा पार्टी गतिविधिमा खासै संलग्न छैनन् । उनी संसदमा सरकारको प्रतिरक्षा पनि गरिरहेका छैनन् । केहि समयअघि केहि संचारमाध्यममा शर्मा एमाले प्रवेश गर्न चाहिरहेको भन्दै टिप्पणीहरु छापिएको थियो । यसअघि मोहन वैद्यको पार्टीमा रहेका देव गुरुङलाई महासचिवबाट नहटाउँदासम्म आफूले नेतृत्वको रक्षा नगर्ने बताउँदै आएका शर्मा पनि विप्लव महासचिव हुँदा विरोध नगर्ने मुडमा पुगेका छन् ।
बर्षमान पुन समेत यो विषयमा सकारात्मक छन् । पार्टीभित्र अनुकुल वातावरण भएपछि प्रचण्ड विप्लवलाई महासचिव दिएर पार्टी भित्र्याउने तयारीमा लागेका छन् ।