अष्ट्रेलियामा ज्ञानेन्द्र शाहीले पाएको भाउ

खम्म ठकुल्ला । हामीले सुन्दै र देख्दै आएका छौँ, नेपालमा कुनै पनि देशका राजनैतिक दलका दोस्रो तहका नेता वा सचिवस्तरको कर्मचारी आउदा उच्च तहका नेताहरुलाई सजिलै भेट्न पाउँछ र हाम्रा नेताहरुले पनि सहजै भेट दिन्छन् । तर हामी लघुताभाषमा जिउन बानी परेका नेपाली त भैहाल्यौँ, कुनै समान्य बिदेशीले हाम्रा देशका उच्च तहका नेताहरुसँग भेटेको विषय होस् या उनीहरुलाई सम्मान दिँदा होस्, हामी बिरोध गर्न र नेताहरुलाई सामाजिक सञ्जालमार्फत गाली गर्न थालिहाल्छौ ।

तर अहिले सामाजिक सञ्जालमा एउटा फोटो र दृश्य भाइरल भइरहेको छ । त्यो दृश्य हो नेपालका चर्चित सांसद ज्ञानेन्द्र शाहीको । उनले दक्षिण अष्ट्रेलियाको उपल्लो सदनको प्रमुखको कुर्सीमा बसेको फोटो सार्वजनिक गरेका छन् जुन फोटो अहिले थुप्रै न्युज च्यानलमा समेत आइसकेको छ ।

असार ७ गते देखि अष्ट्रेलियाको भ्रमणमा रहेका सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही यतिबेला अष्ट्रेलिया घुमफिरमा छन् । उनी अष्ट्रेलियाका विभिन्न ठाउँमा पुगी त्यहाँ रहेका नेपालीहरुसँग अनैपचारिक भेटघाट गरिरहेका छन् । यसबीच उनले दक्षिण अष्ट्रेलियाका पूर्व सभामुख र सांसदसँग भेटवार्ता गर्ने समेत मौका पाए । पूर्व सभामुखसँग भेट भएपछि उनलाई उपल्लो सदनको सभामुख बस्ने कुर्सीमै बसालियो । यसले नै धेरैको ध्यान आकृष्ट गरेको हो ।

नेपाल जस्तो देशको पाँचौँ ठूलो दलको एक जना सांसदलाई उनीहरुले दिएको भाउ र सम्मान नेपालीको लागि गर्वकै विषय हो । एउटा सानो देश, त्यसमाथि सरकारमा नरहेको सानो दल, त्यहि सानो दलको पनि सानो नेतालाई अष्ट्रेलियाली नेताहरुले दिएको सम्मान सिक्न लायक र सम्झन लायक विषय हो । खासगरी विदेशीलाई नेपालमा सम्मान दिँदा वा हाम्रा कार्यकारीहरुको कुर्सीमा बसाल्दा राष्ट्रियता नै धरापमा परेको देख्ने हाम्रो मनोविज्ञान सुधार्नका लागि यो दृश्य काम लाग्न सक्छ ।

उनलाई दिइएको यो सम्मानबाट हामी नेपालीले सिक्नुपर्ने एउटा कुरा के छ भने हामीले सबैको सम्मान गर्न सिक्यौँ भने त्यसको फल हामीले पनि कतै न कतैबाट पाउछौँ । मुख्य कुरा, हामी लघुताभाषमा जिउन छोडौँ, सामान्य विषयलाई अतिरञ्जना नगरौँ । साना साना कुरामा अन्धराष्ट्रवाद नउचालौँ । राष्ट्रलाई बलियो बनाऔँ, राष्ट्र बलियो भए जनता बलियो हुन्छन् । जनता बलियो भए प्रणाली बलियो हुन्छ, प्रणाली बलियो भए हाम्रा विरुद्ध कसैले केहि विगार्न सक्दैन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?