साझा कथा । नेदरल्याण्डससँगको खेलमा नमीठो पराजय भोग्दै विश्वकप पुग्ने यात्रामा विराम लागेपछि नेपाली क्रिकेट टिमले नेपालमा केहि ठाउँमा गाली र धेरै व्यक्तिहरुबाट सान्त्वना पाइरहेको छ । सामाजिक सञ्जालमा टिम नेपालले गरेको मेहनत उच्चस्तरको भएको भन्दै उनीहरुको प्रशंसा गरिएको छ तर सफलता हात पार्न नसकेकोमा निराशा व्यक्त पनि गरिएको छ । तर कतिपय व्यक्तिहरुले भने ब्याटिङ सुधारको लागि नेपाली टिमले मेहनत नगरेको आरोप लगाइरहेका छन् । त्यसको लागि नेपालको भौतिक पूर्वाधार, खेलाडीहरुलाई दिइने प्रोत्साहन, क्रिकेट संघको चरम राजनीति, कतिपय खेलाडीहरुलाई हतोत्साही हुने किसिमले टिकाटिप्पणी कारक भएको बताइन्छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एकदिवसीय विश्वकपको छनोट चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हतोत्साही नहुन भनेका छन् । टोली नेपाल फर्केपछि सँगै खाना खानेगरी भेट्ने समेत बताएका ओलीले एउटा असफलताबाट निराश हुन नहुने उल्लेख गरेका छन् । ओलीले नेपाली टोलीले खेलको परिणाम दिन नसके पनि मेहनत कमजोर नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले भनेका छन्, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम । नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला।’ मेहनत जननी भएको र परिणाम शिशु भएको भन्दै ओलीले कहिलेकाँही मेहनत गर्दागर्दै परिणाम आएन भनेर निराश हुन नहुने उल्लेख गरेका छन् । साथै एउटा असफलता यात्राको अन्त्य नभएको बताउँदै उनले भनेका छन्, ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’
राजनैतिक दलका शीर्ष तहका नेताहरु प्रेरणाका स्रोत पनि हुन् । उनीहरु बोल्ने र देखाउने व्यवहारले देशका नागरिकहरुमा छाप परिरहेको हुन्छ । साथै उनीहरुले देशका हरेक संरचना र अवयवहरुमा ध्यान दिनुपर्छ । निराशालाई आशामा बदल्ने र सोँच परिवर्तन गराउन उनीहरुको भूमिका महत्वपूर्ण हुन्छ । नेपाली खेलाडीहरुलाई प्रोत्साहन दिन ओलीले व्यक्त गरेका कुरा पनि प्रशंसनीय छन् ।