काठमाडौंको धुलो सफा गर्न १ अर्ब खर्च हुने, ‘गरिखाने शिक्षा’का लागि ५० करोड

साझा कथा । काठमाडौं महानगरपालिकाले महानगरलाई धुलोरहित बनाउन १ अर्ब खर्च गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउँदै महानगरले धुलोरहित कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्ष १ अर्ब खर्च गर्ने गरी विनियोजन गरेको छ । काठमाडौ महानगरपालिकाले नयाँ आर्थिक वर्षका लागि २५ अर्व ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपमेयर सुनिता डंगोलले नगरसभामा आर्थिक वर्ष २०८०–८१ का बजेट प्रस्तुत गरेकी हुन् । महानगर गौरवका योजनाअन्तर्गत १० वटा विषयगत योजना छनौट गरी ३ अर्ब ८० करोड विनियोजन गरिएको बताएकी छन् । त्यस्तै २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब छुट्याइएको छ । महानगरपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारका लागि छुट्याएको छ ।

उपप्रमुख डंगोलले आगामी वर्ष सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाडफाडतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेकी छन् ।

वडाहरूबाट तोकिएका सीमाको अधीनमा रही खर्च गर्ने गरी १ अर्ब ७६ करोड रुपैयाँ विनियोजन भएको छ । महानगरपालिकाले गरिखाने शिक्षा, महानगरको इच्छा योजनाअन्तर्गत कार्यक्रम सञ्चालनका लागि ५० करोड विनियोजन गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?