Ad Banner

नारायणगढ बुटवल सडक – ५ बर्षमा ५० प्रतिशत काम, कहिले होला सहज ?

साझा कथा । नारायणगढ बुटवल सडकखण्ड यात्रा गर्ने जो सुकैले महशुस गरेको कुरा हो, सो सडकको यात्रा निकै पट्यार लाग्दो र उकुसमुकुस हुने खालको छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको २ लेनको सडक ५७ वर्षपछि फराकिलो पारेर ४ लेन बनाइँदैछ । बजार क्षेत्रमा कतै ६ लेन र दाउन्ने क्षेत्रमा ३ लेनसम्म पनि हुनेछ ।

४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको प्रगति अहिलेसम्म ५० प्रतिशत हाराहारी पुगेको छ । २०७९ सालको साउन २२ गतेसम्ममा सडक निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा पटकपटक म्याद थप्न थालिएको छ । खासगरी पुल बन्ने स्थानमा समस्या यथावतै छ । पूर्वी खण्डमा १२ वटा ठूला पुल र साना २२ वटा पुल बन्दै छन् । पश्चिम खण्डमा ठूला ९ पुल बन्द्रै छन् ।

यो सडकखण्ड भएर हिड्नेहरुले हैरानी खेप्न थालेको ५ बर्ष भइसक्यो । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको यो सडकको कावासोतीदेखि दाउन्नेखण्डमा त पानी पर्दा राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ । डाइभर्सन निर्माण गरिएको स्थानमा रातो माटो हुँदा पानी पर्नसाथ बाटो चिप्लो भएर यातायात सञ्चालनमा कठिनाइ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए । तर निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले भने वर्षा सुरु हुनुपूर्व धेरै स्थानका पुल निर्माण सम्पन्न गरी ‘डाइभर्सन’बाट यात्रा गर्नुपर्ने अवस्था अत्य गरिने दाबी गरेको छ ।

नवलपुर खण्डमा हालसम्म दुवैतर्फ गरी जम्मा १४ किलोमिटर कालोपत्रेको काम सकिएको छ । हाल कावासोती–डण्डा क्षेत्रमा कालोपत्रे गर्ने योजनाअनुसार काम अघि बढिरहेको छ । विद्युतका पोल तथा ट्रान्सफर्मर हटाउन ढिला हुँदा बजार क्षेत्रको कामलाई छिटो गर्न समस्या भइरहेको छ ।

एक सय १४ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ । पछिल्लो पटक आउँदो भदौसम्मका लागि म्याद थप गरिएको छ । कूल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरि एसियाली विकास बैंकको ऋण सहयोगमा आयोजना अघि बढाइएको हो । आयोजनाको काम सम्पन्न हुन अझै २ बर्ष लाग्ने अनुमान गरिएको छ ।

यो पढ्नु भयो ?