साझा कथा । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले पाएको र सो काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । तर बजेटको अभावमा जिम्मा लिएका अन्य सडकहरु समयमै निर्माण सम्पन्न हुन नसकेको उनको दाबी छ । नेपाली सेनालाई दिइएको तलब सुविधाबारे उठेको प्रश्नमा जवाफ दिँदै रक्षामन्त्री खड्काले तलबमान देशको अर्थतन्त्र अनुसार नै रहेको तथा सरकारको रिति अनुसार नै सेनाले काम गर्दै आएको बताए ।
यस्तै रक्षामन्त्री खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने बताए । बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढन सान्दर्भिक हुने उनको भनाई थियो । पछिल्लो समय नेपाली सेनाको संख्या कटौति गर्नुपर्ने आवाज उठिरहेको छ ।
भ्रष्टाचारका विरुद्ध सत्तापक्ष र प्रतिपक्ष एकैठाउँ आउनुपर्ने भन्दै रक्षामन्त्री खड्काले रक्षामन्त्रालयमै भ्रष्टाचार भए कारबाहि गर्ने र अनियमितता रोक्न आफूले कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । जुनसुकै तहसँग जोडिएका अनियमिततामा निर्मम हुनैपर्ने भन्दै उनले नयाँ संकल्पसहित सिंगो संसद एकतावद्ध भएर अघि बढे कुशासन अन्त्य गर्न सकिने उल्लेख गरे ।
भिडियोको लागि लिङ्क– https://www.facebook.com/watch?v=756284982911095