फेरि सुरु भयो ललिता निवास काण्डको छानविन, एकैदिन ६ जना पक्राउ

साझा कथा । बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणउपरको छानविन फेरि सुरु भएको छ । ललिता निवास जग्गा हिनामिना गरेको आरोपमा एकै दिन ६ जना पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा बसिसकेका तत्कालीन कर्मचारीहरूलाई नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख सहसचिव कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ । पक्राउ परेका कर्मचारीहरू २०४९ सालदेखि २०६६ सम्म उनीहरू मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका व्यक्ति हुन् । यस्तै सीआईबीको टोलीले आजै मालपोत कार्यालय, डिल्लीबजारका पूर्व  खरिदार गोपाल कार्कीलाई पनि पक्राउ गरेको छ ।

ती कर्मचारीहरूले राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको अनुसन्धानमा खुलेको छ । यस प्रकरणमा सीआईबीले डेढ वर्षअघि नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए पनि थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदारदेखि डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलेको छ । यस्तै सोही प्रकरणमा नेकपा एमालेका नेता विष्णु पौडेल, उनका छोरा, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातदेखि अरु दुई पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारी पनि मुछिएका छन् ।

प्रहरीका अनुसार यो काण्डमा मुछिएका करिव ३ सय जनाभन्दा बढीमाथि मुद्दा चलाउनुपर्ने छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?